उर्लाबारीः मोरङको उर्लाबारीका यज्ञबहादुर बस्नेत (भीरगाउँले) ले माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् ।

विगत ५ वर्षदेखि उर्लाबारी वडा नं. ८ मा डेढ बिघा जग्गामा २ वटा पोखरी बनाएर उनले व्यावसायिक रूपमा माछापालन गर्दै आएका हुन् । माछाबाट वार्षिक रूपमा १२ लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले सुनाए । करीब १५ लाख रुपैयाँ लागतमा पोखरी खनेर माछा पाल्दै आएका बस्नेतले भारतीय माछाका कारण स्वदेशमै उत्पादन भएका माछाले बजार नपाएको गुनासो गरे । राज्यले भारतबाट आउने माछामा कडाइ गर्ने हो भने स्वदेशमै उत्पादन भएका माछाले बजार पाउने र थप व्यवसायमा लाग्ने प्रेरणा मिल्ने उनको भनाइ छ ।

खाद्यबालीको तुलनामा तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि माछापालनतर्फ आकर्षित भएको उनले बताए । ‘धानबाट वार्षिक रूपमा २÷३ लाख रुपैयाँ आम्दानी हुन धौधौ हुन्थ्यो’, उनले भने, ‘माछापालन गर्न थालेपछि तेब्बर आम्दानी भएको छ, यो व्यवसायबाट सन्तुष्ट छु ।’ हाल पोखरीमा रहु, नैनी, ग्रासकार्प, कमनकार्प, बिगहेड, सिल्भर, भाकर र हिलापियालगायतका जातका माछा रहेका छन् ।