पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा ३ महिनाको अवधिमा ५ शव फेला परेका छन् । पछिल्लो समय पथरी शनिश्चरे १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा एक महिलाको शव फेला परेसँगै यो सङ्ख्या एक महिनाको अवधिमा बढेर ५ पुगेको हो ।
गत असार २ गते सोमवार पथरी शनिश्चरे नगरपालिका वडा नम्बर २ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा एक व्यक्ति मृत अवस्थामा फेला परेको १ महिना पुग्दै गर्दा पुनः अर्को एक महिलाको शव भेटिएको हो । मङ्गलवार दिउँसो २ बजेको समय स्थानीयले अस्थीपञ्चर देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मीप्रसाद अधिकारीले बताए ।
शरीरका समपूर्ण भागहरू छुट्टिएको, हड्डी मात्र रहेको अवस्थामा शव भेटिएपछि पोस्टमार्टमका लागि शवको हड्डी र दाँत विधि विज्ञान प्रयोगशालामा पहिचानका लागि पठाउने तयारी गरिएको छ । शवको कानुनी प्रक्रिया पुरा गर्दै सोही स्थानमा अन्येष्टि गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
शवको टाउको, शरीर, कपाल सबै छुट्टिएको अवस्थामा अस्थिपञ्चर मात्र फेला परेको जनाइएको छ । डाँस खोलाको नजिकै रहेको वनक्षेत्रमा भेटिएको शव कसको हो भन्ने पत्ता लागेको छैन । शव भेटिएको स्थानमा रुखमा सल बेरेको अवस्थामा फेला परेको छ भने सोको मुनि शवको अश्थिपञ्चर फेला परेको थियो । गत असार २ गते सोमवार पथरी शनिश्चरे नगरपालिका वडा नम्बर २ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा पनि एक पुरुषको सडेको अवस्थामा शव फेला परेको थियो ।
सडेको अवस्थामा फेला परेको सो शवको अर्को दिन पहिचान खुल्दा उनी मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ७१ का प्रेम प्रसाद न्यौपाने रहेको प्रहरीले पुष्टि गरेको थियो ।
त्यसको एक हप्ता अगाडी मात्रै सोही वन क्षेत्रमा पशथरीशनिश्चरे – ८ मा बसोबास गर्दै आएका विमल परियारको शव बिहीबार बिहान रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । झुन्डिएको अवस्थामा जङ्गल रेखदेख गर्ने स्थानीयहरूले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
यस्तै पथरीशनिश्चरेकै वडा नं. ५ बालुवाटारमा गत ज्येष्ठ २८ गते मङ्गलवार एक जना पुरुष मृत फेला परेका थिए । पथरीशनिश्चरे वडा नं. ४ का करिब ५५ वर्षीय अर्जुन माझी मङ्गलवार बिहान नालीमा मृत अवस्थामा भेटिएका थिए ।
स्थायी घर वडा नं. ४ मा भएता पनि पछिल्लो समय उनका काका पर्ने वडा नं. ५ कै गम्भीर माझीको घरमा बस्दै आएका थिए । यस्तै केही समय अगाडी वडा नम्बर १० मा रहेको पशुपति सामुदायिक बन क्षेत्रको बाघे सिमसारमा पनि एक व्यक्ति मृत अवस्थामा भेटिएका थिए । पछिल्लो समय भेटिएको यो शव सँगै सो क्षेत्रमा मात्र भेटिएका शवको सख्या २ पुगेको छ ।
सालको रुखमा डोरी बाँधिएको र मृतकको घाँटीमा पनि डोरी रहेको अवस्थामा गत वैशाख ३० गते सडेको अवस्थामा शव भेटिएको थियो । वैशाख २६ गते राति घरमा सुतेका उनी भोलिपल्ट बिहान घरमा नभेटिएपछि खोज्दै जाँदा वैशाख ३० गते सो वन क्षेत्रमा मृत अवस्थामा फेला परेका थिए ।
भने त्यसको २ महिना बित्न नपाउँदै उस्तै अवस्थामा असार २ गते सोमवार सुन्दर सामुदायिक वन क्षेत्रमा अर्को शव फेला परेको थियो । यसरी एक पछि अर्को शव भेटिने क्रम पथरी शनिश्चरे नगर क्षेत्रमा बढ्दो रहेको छ । पालिकाको मुख्य बजार क्षेत्र भन्दा बाहिरको मुख्य राजमार्ग सँग जोडिएको भु–भाग अधिकांश जङ्गल क्षेत्र रहेको छ । यस क्षेत्रमा रहेका सामुदायिक बनहरूमा यसरी शव विभिन्न अवस्थामा भेटिने गरेका छन् ।
यसरी २÷३ महिनाको अवधिमा ५ वटा शव फेला परिसेका छन् तर केही सञ्चार माध्यम भने पथरी सुरक्षित क्षेत्र हो भन्दै प्रचार गरिरहेको प्रति स्थानीय बासिन्दाहरूको भने असन्तुष्टि व्यक्त गरेका छन् ।
यस्तै गत फागुन १६ गते पथरी शनिश्चरे वडा नम्बर ७ बस्ने वर्ष २६ का षडराज तामाङको वडा नम्बर १ मा रहेको सिक्का वार एन्ड लजमा साथीहरू सँग रमाइलो गरी सिक्का वारको मुख्य गेटबाट निस्किएका उनी केही समय पछि स्थानीय गोर्खा गल्लीमा मृत अवस्थामा फेला परेका थिए ।
यसरी फेला परेको तामाङको टाउकोमा चोट लागेको थियो भने उनको शव घोप्टो परेको अवस्था भेटिएको थियो । यसरी भेटिएका तामाङको २२ दिन पछि तामाङ परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो भने तामाङको परिवार अझै पनि न्यायको खोजीमा भौतारी रहेको छ ।
यस्तै गत वैशाख ७ गते शनिवार बिहान नग्न अवस्थामा मृत फेला परेकी २९ वर्षीय रिना भनिने रुपा बस्नेतको शव फेला परेको थियो । स्थानीय बजारमा १३ वर्षीय छोरासँगै डेरामा बस्दै आएकी रिनको आफ्नै डेरा आगडीको गल्लीमा नग्न अवस्थामा शव फेला परेको थियो ।
यसरी फेला परेको शवको अन्त्येष्टि ९ दिन पछि घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउने जतिसक्दो चाँडो सत्य तथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा शवको अन्त्येष्टि गरेका थिए ।
रिना मृत्यु प्रकरणमा आएको अनुसन्धानको परिणामलाई भने अझैसम्म स्थानीय व्यापारीहरूले आत्मसाथ गर्न नसकिरहेको बताउँदै आएका छन् ।
नगरको कुल क्षेत्रफलको ३ पट्टिको भाग जङगलले ढाकेको क्षेत्र रहेका कारण पनि नगरलाई सुरक्षित बनाउन स्थानीय सरकार र प्रहरी प्रशासनले अभियानकै रूपमा सुरक्षा गस्ती बढाउनु पर्ने स्थानीयको भनाई छ ।
सम्बन्धित समाचारः पथरीकाे जङ्गलमा भेटियो सडिएको अवस्थामा शव
पथरीको जङ्गलमा भेटियो सडिएको अवस्थामा शव