इटहरीः व्यक्तिले भोग चलन गर्दै आएका सार्वजनिक पोखरीहरू इटहरी उपमहानगरपालिकाले धमाधम नगर मातहत ल्याउन थालेको छ । जमिन्दारहरुले पचासौ वर्ष देखि भोग चलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको नगरप्रमुख द्धारिकलाल चौधरीले जानकारी दिएका छन् ।

इटहरी– ४ स्थित चौधरी टोलमा साढे पाँचकठ्ठाको पोखरीमा ९ पोका माछाका भुरा हालिएको छ । यसै गरी इटहरी– १८ स्थित १० कट्ठा क्षेत्रफलको डकाहा पोखरीमा १० पोका माछाका भुरा हालिएको छ । इटहरीको अन्य वडाका सार्वजनिक पोखरीहरूमा समेत माछाका भुरा हालिने उपहानगरले जनाएको छ ।

ती पोखरीहरूमा माछा पालन गरी उपमहानगरको आन्तरिक आम्दानी वृद्धि गरिने मेयर चौधरीले बताए । उपमहानगरले नगरभित्र रहेका सार्वजनिक जग्गा खोजी अभियानलाई तीव्र बनाउने क्रममा व्यक्तिले बर्षौदेखि भोग चलन गर्दै आएका पोखरीहरू उपमहानगर मातहत ल्याउन थालिएको हो ।