विराटनगरः उदयपुर जिल्लाका दुइ गाउँपालिका प्राकृतिक नाकाबान्दिमा परेका छन् । हिउँदभरि खडेरीको मार खेपेका लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा असार अन्तिम साता आएको भारी वर्षाले नजिकका बजारसँगको सम्पर्क विच्छेद भएको हो ।
अहिले दुइ गाउँपालिकाका करिब ३० हजार जनतालाई खाद्यान्न सङ्कट रहेको हुँदा प्रदेश एक सरकारले तत्काल राहतका लागि खाद्यान्न पुत्याएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बुधवार बसेको बैठकले दुवै गाउँपालिकाका लागि आवश्यक खाद्यन्न पठाउने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

मन्त्री कार्कीका अनुसार नेपाली सेनाको हेलिकप्टरमा दुई गाउँपालिकालाई गरी चामल ८ हजार १० किलो, दाल १ हजार ९ सय ९५ किलो, नुन ५ सय किलो र खाने तेल ५ सय लिटर पठाएको छ । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले गाउँपालिका जोड्ने तीन सडक (गाईघाट–लिम्चुङबुङ–हलेसी, कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ र गाईघाट–फाक्सिङटार–लिम्चुङबुङ ) क्षतिग्रस्त भएका छन् । जसका कारण खाद्यान्न सङ्कट भएको छ । खानेपानीका मुहान पुरिएका कारण पानीको समेत अभाव भएको छ ।

Hikmat kumar karkee-pradeshportal

अध्यक्ष राईले असार ३१ गते गाउँपालिकाले सङ्कटग्रस्त घोषणा गरी खाद्यान्न आपूर्तिका लागि सङ्घीय र प्रदेश सरकारलाई आग्रह गरेको उनले जानकारी दिए । उता ताप्की गाउँपालिकाका अध्यक्ष उद्दवसिँह थापाले गाउँमा विपन्न समुदायका व्यक्ति झनै समस्यामा रहेका बताए । उनले यति परिमाणको खाद्यान्नले केही राहत भए पनि सडक सुचारु अतिअावश्यक भएको हुँदा यसका लागि पहल गरिहाल्न आग्रह गरे ।
खाद्यान्न ढुवानीका लागि सङ्घीय सरकारले हाेलिकाेप्टर उपलब्ध गराएको हो ।