पाँचथरः पाँचथरको हिलिहाल र याङ्वरकका दुई वडामा वार्षिक करोड मूल्य बराबरको गोलभेडा उत्पादन हुन थालेको छ ।

यो सिजनमा गोलभेडाको मूल्य राम्रो रहेका कारण किसान उत्साहित देखिएका छन् । अहिले बारीमै पुगेर व्यवसायीले किसानलाई प्रतिकेजी ५५ रुपैयाँदेखि ५८ रुपैयाँसम्म मूल्य दिन थालेका छन् ।

यो मूल्य अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा पनि धेरै हो । अघिल्लो वर्ष यही सिजनमा प्रति क्यारेट (२३ किलो) को ६ सयदेखि ७ सय रुपैयाँसम्म पथ्र्यो । यस वर्ष क्यारेट गोलभेडाको १ हजार ६ सयदेखि १ हजार ७ सयसम्म पर्न थालेको छ । गोलभेडा निकासीका लागि यो मध्य सिजन हो ।

अहिले हिलिहाङ गाउँपालिकाको पुरै र याङवरकको ५ र ६ नम्बर वडाबाट मात्रै दैनिक ८ देखि १० गाडीसम्म गोलभेडा निकासी भइरहेको छ । १ गाडीमा १८ देखि २० क्वीन्टल अट्ने गर्छ । राष्ट्रिय कृषक समूह महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोख्रेल अहिले किसानले गोलभेडाबाट राम्रो आम्दानी लिइरहेको बताउँछन् ।

अघिल्लो पटक निकासीमा समस्यासँगै भाउ नभएका कारण किसानले समस्या भोगेका थिए । उनले भने, ‘यस पटक अहिलेसम्म राम्रो छ । बारीमै पुगेर व्यापारीले १ केजीको लागि ५० रुपैयाँभन्दा बढी मूल्य हालेर किनिदिनु अहिलेसम्मकै राम्रो भाउ हो ।’

यसअघि विभिन्न समयमा भाउ आए पनि लामो समयसम्म नरहने गरेकोमा अहिले शुरुदेखि राम्रो भाउ आइरहेको किसानको भनाइ छ । मुख्य गरेर हिलिहाङ र याङवरकमा खेती घटेको भए पनि भाउ राम्रो आएपछि कुनै समस्या नरहेको किसान बताउँछन् । भाउ यहाँसम्म पुग्ला भनेर आफूले नसोचेको किसान वीरेन्द्र काफ्लेले बताए ।

अहिले नवराज उप्रेती, राजेश दाहालसहितका व्यवसायीले हिलिहाङ र याङवरक क्षेत्रको उत्पादन किनिरहेका छन् । व्यवसायी धेरै भित्रिँदा किसानलाई झन् फाइदा हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार दुई वर्ष अघि गोलभेडाबाट मात्रै ११ करोड २५ लाख रकम भित्रिएको थियो । अघिल्लो वर्ष पनि सो भन्दा धेरै रकम सङ्कलन भएको थियो ।

चालु आर्थिक वर्षमा रकम अझै बढ्न सक्ने अनुमान कार्यालयको छ । मेची राजमार्गमा देखिएको अवरोधका कारण केही समस्या देखिएको भए पनि अहिले त्यो समाधान भएको छ ।