इटहरीः अझै पनि देशभरका २१ ओटा स्थानीय तहमा कुनै पनि बैंकले आफ्नो सेवा दिन सकेका छैनन् । नेपाल राष्ट्र बैंकको असार मसान्तसम्मको तथ्याङ्कअनुसार ७ सय ३२ ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
प्रदेश १ मा एउटा स्थानीय तहमा बैंक नपुग्दा प्रदेश नम्बर ५ मा भने सबै १ सय ९ ओटै स्थनीय तहमा बैंक पुगेका छन् । कर्णाली प्रदेशका ८ ओटा र सुदूर पश्चिम प्रदेशका ६ ओटा स्थानीय तहमा बैंक पुगेका छैनन् । गण्डकी प्रदेश तथा प्रदेश नम्बर २ र ३ का २÷२ ओटा स्थानीय तहमा बैंक पुगेका छैनन् ।
राष्ट्र बैंकका अनुसार प्रदेश नम्बर १ मा ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । सबैभन्दा धेरै बाजुरा र डोल्पाका ४÷४ ओटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् ।
२०७४ चैतमा वाणिज्य बैंकले स्थानीय तहमा शाखा बिस्तार गर्नुपर्ने भनी राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंकले २०७५ वैशाखभित्र थप २ सय ४३ स्थानीय तह र २०७५ असार मसान्तभित्र थप १ सय १६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा अनिवार्य रूपमा खोल्न निर्देशन जारी गरेको थियो ।