बेलबारीः मोरङको बेलबारी नगरपालिकाले आधुनिक खेतीमा किसानलाई आकर्षित गर्नका लागि कृषि यन्त्रीकरणका सामग्री वितरण गरेको छ ।

मङ्गलबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ती सामग्री वितरण गरेको हो । जोत्नका लागि पावर टिलर तथा मिनी टिलर, मकै छोडाउने औजार (मेज थ्रेसर) र सिँचाइका लागि मोटर तथा पाइप वितरण गरेको नगरपालिकाले जनाएको छ ।

४ ओटा पावर टिलर, ५ ओटा मिनी टिलर, ११ ओटा मेज थ्रेसर तथा १६ थान मोटर र पाइप वितरण गरिएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।

ती सामग्रीहरू नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली, प्रवक्ता सुवेदीलगायतले किसानलाई हस्तान्तरण गरेका थिए । परम्परागत खेतीलाई आधुनिकीकरण गर्ने लक्ष्यका साथ औजार वितरण गरिएको उपमेयर पराजुलीले बताइन् ।

परम्परागत खेती गर्दै आएका किसान आधुनिक मेसिन पाउँदा खुशी भएका छन् । वर्षाैंदेखि तरकारी खेती गर्दै आएका बेलबारी–२ का रुद्रबहादुर बस्नेतले मिनि टिलर समाउँदै भने, ‘अब आधुनिक तरिकाले खेती गर्न सहज हुन्छ ।’

प्लाष्टिक हाउसभित्र समेत जोत्न मिल्ने सो टिलरबाट गोलभेडा, सागलगायतका तरकारी खेती गर्न मिल्ने नगरपालिकाका कृषि शाखाका नायब प्राविधिक सहायक विशाल सिटौलाले बताए । आपूmले विगत १० वर्षदेखि तरकारी खेती गर्दै आए पनि आफूसँग आधुनिक खेतीका लागि चाहिने सामग्री नहुँदा समस्या परेको उनले बताए ।

पावर टिलर हेर्दै प्रसिद्ध कृषि फार्म बेलबारी–७ का अध्यक्ष दलबहादुर बिष्टले औजार भएपछि अब कतै पनि खेतबारी बाँझो नराख्ने बताए । सो फार्मले माछा र बाख्रापालनका साथै अनाज र तरकारी खेती गर्दै आएको उनले बताए ।

नगरपालिकाले यसअघि पनि सिँचाइका लागि मोटर वितरण गरेको थियो । १८ लाख ७२ हजार ५ सय ९६ रुपैयाँबराबरको सामग्री किसानलाई दिइएको प्रवक्ता सुवेदीले बताए ।