इटहरीः सोसल कमर्स साइट सगुन डटकमले बेलायतमा बस्ने नेपालीको साझा घरका रूपमा निर्माण गर्ने लक्ष्य लिइएको नेपाल हाउसको प्रोजेक्टका लागि १ लाख डलर बराबरको शेयर सहयोग प्रदान गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) युकेको महत्वाकांक्षी प्रोजेक्टका रूपमा हेरिएको नेपाल हाउसलाई सगुनले हालै स्थापना गरेको सगुन फाउण्डेसनका तर्फबाट सहयोग गरिएको हो ।

सोमबार बेलायतको अल्डरसटमा एक कार्यक्रमका बीच उक्त सहयोग समझदारीपत्र हस्तान्तरण गरिएको छ ।

लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, एनआरएन युकेका अगुवाको साथै बेलायतस्थित विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा सगुन र एनआरएन युकेबीच समझदारीपत्र हस्तान्तरण गरिएको थियो ।

सगुन कम्पनीको अहिलेको भ्यालुअनुसार नेपाल हाउसलाई प्रदान गरिएको १ लाख डलर बराबरको शेयरमा ४ हजार ३ सय ७४ कित्ता शेयर पर्छ । सगुनको लक्ष्यअनुसार सन् २०२२ सम्ममा कम्पनीको भ्यालु ५ बिलियन पुगेको अवस्थामा नेपाल हाउसलाई दिइएको कुल शेयरको भ्यालु ५ मिलियन डलर पुग्नेछ ।

समझदारीपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सगुनका सल्लाहकार सूर्य गुरूङले विश्वमा नेपाल र नेपालीको गौरव बढाउन सुरू भएको सगुनको अभियानलाई बेलायतको नेपाली कम्युनिटीबाट दिइएको साथ तथा हौसलाको कदर गर्दै सगुन फाउण्डेसनले पहिलो सहयोग बेलायतकै नेपाली समुदायलाई गरेको बताए ।

सगुनले नेपाल हाउस प्रोजेक्टको लागि निशर्त रूपमा यो सहयोग दिएको स्पष्ट पार्दै सगुनको भ्यालु बढ्दै जाँदा नेपाल हाउसका लागि दिइएको शेयरको मूल्य पनि स्वतः बढ्दै जाने जानकारी गराए ।

एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले सगुनको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यो सहयोगबाट आफूहरूको नेपाल हाउसको सपना पूरा गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनले एनआरएन युके र सगुनबीच शुरु भएको सहकार्यले दुवै संस्था र समग्र समुदायको हित गर्ने आशा व्यक्त गरे ।

सगुनका बेलायत संयोजक युवराज सेढाईंले सगुनका अवधारणा र लक्ष्यका साथै यसका प्रोडक्टबारेको जानकारी दिएका थिए ।

कार्यक्रममा एनआरएन युकेका प्रमुख संरक्षक मेजर रिटायर्ड डम्बर घले, पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन आइसीसी सदस्य रामशरण सिंखडा, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, तमू धि युके अध्यक्ष ज्ञान गुरुङ, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपाङ्गीमगर, एनआरएन मिडिया समिति उपसंयोजक चिरन शर्मा, एनआरएन युके सल्लाहकार तथा बुद्धिजीवी शिवजी श्रेष्ठ, काउन्सिलर तथा एनआरएन अगुवा लक्ष्य गुरुङ, एनआरएन युके व्यापार विभाग संयोजक गंगा राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

एनआरएन युके महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शेर सुनारले स्वागत मन्तव्य दिएका थिए ।