पाँचथरः पाँचथरको फिदिम र हिलिहाङको बीचमा बग्ने हेंवा खोलामा निर्माण गरिएको तल्लो हेंवा जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

२०७५ सालको असारमा काम सक्नुपर्ने सम्झौता रहे पनि विविध कारण करीब १ वर्षभन्दा पछि निर्माणकार्य पूरा भएको आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिए । अहिले आयोजनाले क्षमताको पूरा उत्पादन दिइरहेको बताइएको छ । हाल २१ दशमलव २ मेघावाट उत्पादन भइरहेको बताइएको छ ।

निर्माण कार्य लम्बिएसँगै आयोजनाको लागत ४ अर्ब पुगेको छ । यसअघि ३ अर्ब ६६ करोडमा निर्माण सक्ने बताइएको थियो ।  सानिमा बैंकको नेतृत्वमा लगानी गरिएको छ । भूकम्प, नाकाबन्दी, स्थानीय अवरोध लगायतका कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको हो ।

आयोजनालाई अहिले काबेली करिडोर अन्तर्गत केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । साउन ५ गतेदेखि केन्द्रीय प्रशारणमा पूर्ण सफलताका साथ आयोजना जोडिएको हो । यसअघि हेंवा ए जलविद्युत आयोजना केन्द्रीय प्रशारणमा जोडिसकिएको छ ।

आयोजनाले हेंवा खोला र सोही नजिक रहेको फेमे खोलाबाट पानी एकत्रित गरेर आयोजनाको विद्युत गृहसम्म पुर्याइएको छ । आयोजनाले ५ किलोमिटर लामो सुरुङ मार्ग निर्माण गरेको छ ।