इटहरीः अबदेखि सहकारी संस्थाहरूले ऋण लगानी गर्दा ऋणीबाट १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने भएका छन् ।

सहकारी संस्थाहरूको स्प्रेड दर ६ प्रतिशत तोकिएको छ । यो ब्याजदर र स्प्रेड दरको नयाँ व्यवस्था साउन १९ गतेदेखि लागू हुने सहकारी विभागले पत्रकार सम्मेलन गरी जनाएको छ ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको साउन १६ गतेको निर्णयअनुसार सहकारी संस्थाहरूका लागि ब्याजदर तोकिएको हो सम्मेलनमा बताइयो । यसअघि ब्याजदर सम्बन्धी स्पष्ट व्यवस्था थिएन ।

सहकारीहरूले ब्याजदरमा गरिरहेको मनपरी नियन्त्रणका लागि विभागले यस्तो कदम चालेको बताएको छ ।

सहकारी ऐन २०७४ को दफा ५१ मा सहकारी विभागका रजिष्टारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय नेपाल राष्ट्रबैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय बिषयगत संघहरूबाट प्रतिनिधि र सहकारी विभागका उपरजिष्टार सदस्य सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिश समिति गठन भएको थियो ।