उर्लाबारीः भूमि कर र मालपोत दोब्बर वृद्धि गरेको भन्दै मोरङको उर्लाबारीका किसानहरूले ध्यानाकर्षण गराएका छन् ।

उर्लाबारी वडा नं. ८ र ९ का किसानहरूले आइतबार वडा कार्यालयमा ध्यानाकर्षण गराएका हुन् । कृषि क्षेत्र मानिने वडा नं. ८ र ९ का किसानहरू उर्लाबारी नगरपालिकाले भूमि कर र मालपोत दोब्बर वृद्धि गरेपछि मर्कामा परेको भन्दै आक्रोश पोखे । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि शहरी व्यापारिक क्षेत्रको प्रति धुर १२ रुपैयाँ, शहरी आवास क्षेत्रको प्रति धुर १० रुपैयाँ,ग्रामीण आवास क्षेत्रको प्रतिधुर ५ रुपैयाँ लिने निर्णय गरेको थियो ।

यसैगरी, कृषि क्षेत्रको प्रतिधुर ३ रुपैयाँ,आवादीकोे बगर क्षेत्रको प्रति धुर १ रुपैयाँ ५० पैसा र बगर क्षेत्रको प्रति धुर ५० पैसा भूमि कर तोकेको थियो । गत आर्थिक वर्षको तुलनामा ३ सय प्रतिशतसम्म वृद्धि भएको स्थानीय सुरेन्द्र शेर्माले बताए ।

गत वर्ष सम्पत्ति करका रूपमा मालपोत सङ्कलन गरिएको उनको भनाइ छ । नगरपालिकाले गत आर्थिक वर्षमा जग्गाको एकमुष्ट मूल्याङ्कन गरी सोही अनुपातमा सम्पत्ति कर लिएको थियो । तर, यो वर्ष भूमिकरका रूपमा पैसा उठाउन शुरु गरिएको छ । यसले उत्पादन वृद्धिमा लागेका किसान मारमा परेका छन् ।

गत वर्ष नगरले १० लाख रुपैयाँ सम्मको सम्पत्तिमा १ सय रुपैयाँ, ७५ लाख रुपैयाँसम्मको सम्पत्तिमा प्रति लाख १० रुपैयाँ, १ करोडसम्मको प्रतिलाख १५ रुपैयाँ, २ करोडसम्मको प्रतिलाख २२ रुपैयाँ, ३ करोड सम्मको प्रतिलाख २८ रुपैयाँ ५ करोडसम्मको प्रति लाख ३५ रुपियाँ र ५ करोडमाथि प्रति लाख ४० रुपैयाँ लिएको थियो । सम्पत्ति करमा भने नगरले कुनै हेरफेर गरेको छैन । गाउँको खेती गर्ने जग्गामा भूमिकर बढाएपछि किसानहरूमा निराशा छाएको किसानहरू बताउँछन् ।

गत आर्थिक वर्ष खेतीयोग्य जमिनमा सडकले छोएको भए बिघाको ६ सय रुपैयाँ र नछोएको भए २ सय रुपैयाँ लिने व्यवस्था गरेको थियो । यस वर्ष नयाँ व्यवस्था भएपछिकर दोब्बर वृद्धि भएको अर्का किसान नरेन्द्र देवानले बताए । शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा लिने करको प्रकृति फरक हुनुपर्ने उनको भनाइ छ ।

स्थानीय समाजसेवी नारायण बस्नेतले माछापालन, पशुपालन र व्यावसायिक कृषि उत्पादन भएको जग्गामा नगरपालिकाले कर छुट दिनुपर्ने बताए । जग्गा खण्डीकरण नभएको उत्पादन क्षेत्रमा एकातिर सरकारले अनुदान दिने र अर्कोतर्फबाट कर असुल्ने हो भने किसानहरू कृषि क्षेत्रबाट पलायन हुने बस्नेतको भनाइ छ ।

किसानको समस्यालाई सम्बोधन गर्दै उर्लाबारी वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्की र ९ का अध्यक्ष बमबहादुर फियाकले किसानहरूको समस्यालाई सकारात्मक रूपमा लिएको बताउँदै कार्यपालिकामा किसानका समस्या पु¥याउने बताएका छन् ।