बिर्तामोडः ३ ओटा गाउँपालिकालाई सकेटी झापामा बन्ने औद्योगिक पार्क निर्माणका लागि लगानी बोर्डले ६४ अर्ब रुपैयाँको स्वीकृति दिएको छ ।

‘चाइना –नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ निर्माणका लागि बोर्डले स्वीकृति दिएको हो । दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिका क्षेत्रको २ हजार १ सय बिघा जग्गामा औद्योगिक पार्क बन्ने भएको हो ।

सन् २०१७ मा चीनबाट आएको टोलीले पार्क निर्माण गर्ने विषयमा सो क्षेत्रको अवलोकन गरेको थियो । गौरादह नगरपालिका– ५, कमल गाउँपालिका –७ र दमक नगरपालिका– १० मा पार्क बन्ने भएको हो । पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङ –पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न स्वीकृति दिएको लगानी बोर्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पहिलो चरणको काम असोजदेखि थालिने बोर्डले जनाएको छ ।

अहिले ९ सय ४२ बिघा जग्गा अधिग्रहण भइसकेको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार पहिलो चरणमा ७ सय बिघा जमिनमा ६४ अर्ब रुपैयाँ चिनियाँ कम्पनीलाई लगानी गर्नका लागि बोर्डले स्वीकृति दिएको छ ।

पार्क निर्माणपश्चात् चीनमा स्थापित बहुराष्ट्रिय कम्पनी सो क्षेत्रमा स्थापना हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत बताउँछन् । मोबाइल फोन, सवारी साधन, विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी स्थापना हुने बस्नेतले बताए । आफ्नो उत्पादनलाई विश्व बजारका सबै क्षेत्रमा पु¥याउनका लागि यो औद्योगिक पार्कले सहयोग गर्ने बस्नेतको भनाइ छ ।

१० वर्षमा बनिसक्ने पार्क ४० वर्षसम्म चीनले नै पार्क सञ्चालन गर्ने र त्यसपछि मात्र नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ । बीचमा पर्ने रतुवा खोलाको संरक्षण गर्दै पार्क निर्माण गर्ने बताइएकोे छ । पार्क निर्माण क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई मुआब्जा उपलब्ध गराएर अन्यत्र सार्ने प्रक्रिया शुरु भएको छ । पानी बगेको, काँसबारी र खेतीयोग्य जमिन गरेर ३ चरणमा जग्गाको विभाजन गरिएको छ ।