पाँचथरः लामो समयदेखि विभिन्न प्रलोभन देखाएर पाँचथरको फिदिमसहितका क्षेत्रका व्यवसायी ठगीमा संलग्न रहेका १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका वडा नम्बर ३ रानीगाउँ ठेगाना भएका लीला भनिने रिजन चम्लागाईं रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । फिदिमबाट उनलाई पक्राउ गरिएको हो ।

उनले प्रयोग गरिएको मोबाइलसहित अन्य उजुरीका आधारमा अनुसन्धान बढाउँदा उनी पक्राउ परेको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । उनको विरुद्धमा हालसम्म २ जनाले प्रहरीमा निवेदन दिएका छन् । तर बजारमा भने अरु १ दर्जन व्यवसायी ठगिएको पाइएको छ ।

पाँचथर सदरमुकाम फिदिमसहित आसपासका व्यवसायीलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने उनले फरकफरक क्षेत्रमा फरकफरक व्यक्तिको सहयोगमा रकम ठगी गर्ने गरेका थिए । बिर्तामाड, दमक र काठमाडौंमा रकम लिन फरकफरक नागरिकताको प्रयोग भइरहेको पत्ता लागेको छ । ती घटनामा पक्राउ परेका चम्लागाई एक्लै थिए वा अरु पनि छन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडितहरूले दिएको जानकारीअनुसार छुट्टाछुट्टै स्थानमा रकम पठाउन भनिएको छ । आहालगैरी स्थित पाथीभरा होटलका सञ्चालक बिकेन्द्र वाइबा तामाङलाई काठमाडांैमा रकम पठाइदिन भनिएको थियो । यता सवारी चालक अनिल ढुङ्गेललाई दमकमा रकम पठाउन भनिएको थियो । पछिल्लो ३ महिनामा उनको ठगीमा जिल्लाका आधा दर्जन भन्दा बढी व्यवसायी परिसकेका छन् ।

टेलिफोन सम्पर्क गर्ने अनि समस्या देखाउने र अहिले तत्काल आउँछु भनेर पैसा पठाइमाग्ने गरेको पाइएको छ । धेरै व्यवसायीसँग एकै व्यक्तिले त्यस्तो व्यवहार गरेपछि घटना बाहिरिएको हो ।

ठगिनेमा होटल सञ्चालक, मनि ट्रान्सफर सञ्चालक र यातायात व्यवसायी मुख्य छन् । पछिल्लो समय एकपछि अर्को गर्दै फिदिममा आफू पनि ठगिएको बताउनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म भेटिएका मध्ये ३ वटा नम्बर प्रयोग गरेर रकम पठाइमाग्ने गरेको पाइएको छ ।

हालसम्म ठगिएकामध्ये प्रत्येक व्यक्तिबाट ५ देखि ७ हजार रुपैयाँसम्म लिएको पाइएको छ । घटना नाटकीय रूपमा हुने गरेको छ । होटल सञ्चालकलाई फोन गरेर ‘तपाईंको होटलमा मान्छे ल्याइदिँदै छु । मलाई चिन्नुभएन’ भन्दै भावनात्मक कुरा गर्ने गरेका थिए । केही समयपछि फेरि फोन गरेर ‘म केही घण्टामा फिदिम आइपुग्छु फलानो मान्छेलाई यति पैसा हाल्दिनू’ भन्दै फोन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।