बेलबारीः पछिल्लो समय अवैध घरेलु मदिराको ओसारपसार बढेको छ । बिहीबार मात्रै इलाका प्रहरी कार्यालय बेलबारीले ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान ११ बजे को १ ख ४१४६ नम्बरको बसमा लुकाएर ल्याइएको ४ सय ४० लिटर मदिरा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढाथोकीले बताए । बुढाथोकीका अनुसार बसका चालक कमल दर्जी र सहचालक पदमबहादुर थापालाई नियन्त्रणमा लिइएको छ ।
चालक, सहचालकसहित बरामद मदिरा आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ । भारतको विहार राज्यमा मदिराको कारोबारमा रोक लगाएपछि मोरङमा अवैध घरेलु मदिराको किनबेच बढेको छ । केही दिनदेखि इलाका प्रहरी कार्यालयले अवैध मदिरा नियन्त्रणमा लिइरहेको छ ।
बुधबार साइकलमा १ सय लिटर नियन्त्रणमा लिएको थियो भने साउन १४ गते २ सय लिटर नियन्त्रणमा लिएको थियो । प्रहरीले यातायातका साधनमा समेत कडाइ गर्न थालेको छ । उत्तरी मोरङबाट दक्षिणी क्षेत्र हँुदै भारतसम्म त्यस्तो मदिरा बिक्री हुने गरेको छ ।