सङ्खुवासभाः जिल्लामा चालु र पूँजीगततर्फ सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको रकममध्ये सरकारी कार्यालयको १ अर्ब २३ करोड बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लामा आएको सो रकम खर्च नहुँदा फिर्ता भएको हो । जिल्लालाई प्राप्त रकम मध्ये २० प्रतिशत रकम गत अर्थिक वर्षमा खर्च हुन सकेन ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सङ्खुवासभाका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा पूँजीगततर्फ एक अर्ब २३ करोड ३ लाख ३२ हजार रुपैयाँ फ्रिज भएको थियो । सङ्घ र प्रदेश सरकारले जिल्लाको विकासका लागि ६ अर्ब ४३ करोड ७१ लाख ६९ हजार उपलब्ध गराएको कोष नियन्त्रक प्रकाश भट्टराईले जानकारी दिए । प्राप्त रकममध्ये ५ अर्ब २० करोड ६८ लाख ३७ हजार मात्र खर्च भएको कोष नियन्त्रक भट्टराईले बताए ।

प्राप्त रकममध्ये प्रदेश सरकारबाट प्राप्त ४५ प्रतिशत रकम जिल्लाले खर्च गर्न नसकेर फिर्ता गरेको छ । प्रदेश सरकारबाट १ अर्ब ३६ करोड ४१ लाख ८७ हजार रकम प्राप्त भएको थियो । जसमध्ये ६० करोड ४९ लाख २० हजार खर्च हुन नसकेको हो । चालुतर्फ २२ करोड ९५ लाख ४५ हजारमध्ये ४ करोड १ लाख ७५ हजार रुपैयाँ फ्रिज भएको हो । त्यसैगरी, पूँजीगतमा एक अर्ब १३ करोड ४६ लाख ४२ हजारमध्ये ५६ करोड ४७ लाख ४५ हजार रुपैयाँ खर्च हुन सकेन । प्रदेशले दिएको बजेटको चालुतर्फ ८२ प्रतिशत खर्च भए पनि पूँजीगततर्फ भने ५० प्रतिशत बजेट खर्च भएको हो ।

यसैगरी सङ्घीय सरकारले ६३ करोड ५४ लाख ११ हजार रुपैयाँ खर्च गर्न सकेको छैन । ८७ प्रतिशत मात्र खर्च भएको देखिन्छ । जिल्लामा चालु र पूँजीगतमा आएको ५ अर्ब ७ करोड २९ लाख ८२ हजार प्राप्त भए पनि ४ अर्ब ४४ करोड ७५ लाख ७१ हजार रुपैयाँ मात्र खर्च भएको देखिएको छ ।

पूँजीगततर्फ १ अर्ब २१ करोड ४० लाख ३६ हजारमध्ये ९८ करोड ६० लाख २३ हजार रुपैयाँ मात्रै खर्च भएको छ । चालु खर्चतर्फ ३ अर्ब ८५ करोड ८९ लाख ४६ हजारमध्ये ३ अर्ब ४६ करोड १५ लाख ४७ हजार मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

राजस्वअन्तर्गत प्राप्त सङ्घतर्फको २८ करोड ७८ लाख ३ हजार र प्रदेशतर्फको ५७ लाख ९६ हजार प्राप्त रकमको खर्च विवरण भने आउन बाँकी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम बाँडफाँड हुने राजस्वमध्ये मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तरशुल्क बापतको प्रत्येक महिनामा सङ्कलन भएको रकमको १५ प्रतिशत रकम प्रत्येक स्थानीय तहलाई वितरण हुने गरेको छ ।