बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५ का हीरालाल विश्वकर्मालाई घरायसी कामका लागि नगद ३ लाख रुपैयाँ आवश्यक प¥यो । उनले आफ्नै नाममा रहेको २ कठ्ठा १० धुर जग्गासहितको घर पथरीकी भेषकुमारी राईलाई धितो पास गरेर ३ वर्षमा बुझाउने गरी २०७२ माघ १० गते रजिस्ट्रेसन पास गरिदिए । उनले पैसा दिएको २०७५ माघ १० गते ३ वर्ष पूरा भएको छ ।

बिकले जग्गा धितो पास गरेको केही महिनापछि उक्त घर र जग्गा बैंकमा राखेर १३ लाख ८० हजार रुपैयाँ भेषकुमारीले निकालिन् । उनले प्राइम बैंक धरानमार्फत् सो रकम निकालेकी थिइन् । आफूले लिएको ३ लाख रुपैयाँको साँवा र ब्याज दिएर आफ्नै नाममा जग्गा फिर्ता लिने तयारी गरिरहेका बिक परिवारले भाका पुग्नु अगाडि नै पटकपटक भेषकुमारीलाई फोन गरेर बोलाए । तर उनी आइनन् ।

पछि त्योभन्दा ठूलो आपत्ति उनीहरूका लागि बंैकले घर खालि गर्नका लागि पठाएको पत्र बन्यो । पैसा तिर्ने भनिएको म्यादभन्दा १ महिना अगाडि नै बंैकले घर खालि गर्न पत्र पठायो । उनले भने, ‘अहिले हामी सुकुम्बासीजस्तै भएका छौँ ।’

‘घरजग्गा बचाउनका लागि हामीले दुई किस्ता तिरेका छौँ’, हीरालालकी छोरी प्रतिमा विश्वकर्माले भनिन्, ‘बैशाखमा १ लाख १७ हजार र साउनमा १८ हजार तिरेका छौँ ।’

बेलबारी–३ की अप्सरा गुरुङको पुख्र्याैली घर खोटाङ हो । उनले पहाडमा चिनजान भएका प्रकाश गिरीलाई घरजग्गा राखेर पैसा निकालिदिइन् । उनले ५५ लाख रुपैयाँ बंैकबाट निकालेर २८ लाख पथरीका गिरीलाई दिइन् भने २७ लाख आफूले राखिन् । २४ प्रतिशत ब्याज गिरीलाई दिने र बैंकको किस्ता गिरीले तिर्ने शर्तमा पैसा दिएको उनले बताइन् ।

पछि बंैकले उनीहरूलाई घर खालि गर्न पत्र पठायो । पत्र पठाएपछि बंैकमा गएर बुझ्दा ७५ लाख रुपैया बंैकबाट गिरीले लिएको थाहा भयो । यति डेभलपमेन्ट बैंकबाट उनले ऋण लिएकी थिइन् ।

उनले आफूले लिएको २७ लाखको साँवा ब्याज लगेर जग्गा फिर्ता गरिदिन गिरीसँग आग्रह गरेको बताइन् । गिरीले घर नै किनिदिने भन्दै धरान लगे । धरान पु¥याएर जयप्रकाश श्रेष्ठलाई घर बेचिदिने भन्दै आफूलाई कागजातमा सहीछाप गर्न लगाएको गुरुङले बताइन् । नपढेकी मान्छे हुनाले त्यहाँ लेखिएको थाहा नपाई सही गरिदिएको तर अहिले बैंकले घर खाली गरिदिन चेतावनी दिइरहेको उनले बताइन् ।

उता, बेलबारी–३ की सन्तमाया लिम्बूले चिनजानकै भरमा बेलबारी–२ का धनबहादुर लिम्बूलाई आफ्नो घर जग्गा राखेर २ लाख रुपैयाँ निकालिदिइन् । उनले केराबारीका तिलक राईलाई धितो पास गरेर ३ महिनामा जग्गा फिर्ता गरिदिने शर्तमा पैसा दिएकी थिइन् । धनबहादुरले तिलकलाई पैसा नतिरिदिएका कारण उनीहरू विगत ४ वर्षदेखि सुकुम्बासीजस्तै बनिरहेका छन् ।

यी केही प्रतिनिधि घटना मात्रै हुन् । उनीहरूजस्ता धेरै जना व्यक्तिगत धितोपासका नाममा सुकुम्बासी बनिरहेका छन् । बेलबारीको न्यायिक समितिमा ४१ ओटा उजुरी धितोपासका रहेका छन् । नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले भनिन्, ‘३८ ओटा उजुरी हामीले छलफलका माध्यमबाट मिलाएका छौँ ।’

‘आर्थिक लेनदेनका उजुरी न्यायिक समितिले हेर्न मिल्दैन’, पराजुलीले भनिन्, ‘तर पनि उजुरी दर्ता नगरी छलफल गरेर मिलाउने गरेका छौँ ।’ केही प्र्रतिष्ठित व्यक्तिका समेत उजुरी रहेको उनले बताइन् । पछिल्लो समय मानवीय धर्म बिर्सदै गएका कारण धेरै जना चिनेजानेकैबाट ठगिने गरेको समेत उनले बताइन् ।