बेलबारीः पहाडका साथै तराईका जिल्लामा हुने रुद्राक्षको उत्पादनसँगै कारोबार बढ्दै जाँदा व्यापारी र किसानबीच मतभेद बढ्न थालेको छ । विशेष गरी रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुर र सङ्खुवासभासहित धनकुटा, तेह्रथुम तथा सुनसरी र मोरङमा रुद्राक्षको खेती हुने गरेको छ ।

तर पछिल्लो समय विभिन्न बहानामा रुद्राक्षको आकार बिगारेको भन्दै व्यापारीहरूले विरोध गरेकाले किसान थप चिन्तित बनेका छन् । बुधबार केही किसानले मोरङको सुन्दरहरैचामा पत्रकार सम्मेलन गर्दै अप्राकृतिक रुद्राक्ष उत्पादनको हल्लामात्रै भएको बताए । विषादी प्रयोग गरेको भन्दै केही व्यवसायीले चिन्ता व्यक्त गरिरहँदा स्थानीय किसानले भने रासायनिक मल पनि प्रयोग नगर्ने गरेको बताए ।

किसानले फटिलाइजर नामक विषादी प्रयोग गर्ने गरेको भन्दै केही व्यवसायीले रुद्राक्षको मूल्य घटाउन किसानलाई बाध्य पारेको मोरङ सुन्दरहरैचा नगरपालिकाका कार्यापालिका सदस्य समेत रहेका किसान भक्तकिरण राईले बताए ।

‘विषादी प्रयोग भएको रुद्राक्ष चिल्लो हुने तर एक महिनापछि रङ खुइलिने, हलुका हुने र कालो देखिने भन्दै गलत प्रचार गर्न थालिएको रहेछ’, उनले भने,‘गलत प्रचार गरेर किसानलाई ठग्न खोजेको हो ।’ फटिलाइजर विषादी प्रयोग गर्दा बोट मात्रै कालो हुने तर फलमा असर नगर्ने उनको भनाइ थियो ।

अढाई सय बिरुवा लगाएका सङ्खुवासभाका किसान भन्छन्,‘मेरो बगानका केही रुखमा फटिलाइजर मल लगाएको छु तर उत्पादन सबैमा उस्तै छ ।’ व्यापारको लागि चीनमा रुद्राक्ष लिएर जाँदा केही फरक नपरेको उनले बताए ।

दाना ठूलो हुँदा फटिलाइजर लगाएको भन्दै नेपालकै केही व्यापारीले ठग्ने गरेको उनले बताए । केही व्यापारीले किसानबाट बगान ठेक्कामा लिएर विभिन्न क्लिप लगाएर किसानको बेइज्जत गरेको आरोपसमेत किसानको छ । भोजपुरका सचिन राई भन्छन्, ‘किसानलाई ठग्नका लागि केही व्यापारी लागि परेका छन् ।’

केही व्यापारीले प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई भेटेर फटिलाइजर लगाइएका रुखहरू काट्न लगाउन किसानलाई आग्रह गरेका थिए । किसानले सरकारविरुद्ध समेत आन्दोलन गर्ने चेतावनी दिएका छन् ।