धरानः महिला सञ्जाल धरानको आयोजनामा उद्यमी महिलाहरूले उत्पादन गरेका सामग्रीहरूलाई बजारीकरण गर्दै उनीहरूलाई प्रोत्साहन गर्न भदौ ५ गतेदेखि धरानमा तीज विशेष कार्यक्रम महिला उद्यमी मेला लाग्ने भएको छ ।

भदौ ७ गतेसम्म घरेलु उत्पादनहरूको सस्तो मेला लाग्ने भएको हो । जम्मा ३० ओटा स्टल रहने मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकला सामग्री, जुत्ताचप्पल, साडी कुर्ता, हातेझोला, अर्गानिक तरकारी र वस्तु, नेपाली खाजाका परिकार, स्थानीय तयारी खाद्यान्न सामग्री, विशेष तीज सामग्री लगायत सामग्रीहरूको किनबेच हुने आयोजकले जनाएको छ ।

सञ्जालकी अध्यक्ष सबिता राईका अनुसार मेलामा सामग्री किनबेच मात्र नभएर उद्यमी तथा व्यावसायीबीच अन्तरक्रिया, बजारीकरणका विषयमा उत्प्रेरणा तालीमहरू सहित मनोरञ्जनका लागि तीज विशेष कार्यक्रम सञ्चालन हुनेछन् ।