धनकुटाः धनकुटा नगरलाई फुसको छानोरहित बनाउने उद्देश्यका साथ विपन्न परिवारलाई नगरले जस्तापाता वितरण गरेको छ ।
आवास सहुलियत साझेदारी कार्यक्रमको लाभग्राही सूचीमा रहेका एकल, ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग, विपन्न, दलित र अल्पसङ्ख्यक आठपहरिया समुदायलाई प्राथमिकतामा राखी २ करोड १४ लाख रुपैयाँबराबरको जस्तापाता वितरण गर्न लागिएको हो ।

नगरपालिकाको लाभग्राहीको सूचीमा यो वर्ष २ सय १ परिवार परेका छन् । उनीहरूको आवश्यकताको आधारमा नगरपालिकाले जस्तापाता वितरण गर्न लागेको हो । नगरपालिकाले नगरका १० ओटै वडाका लक्षित वर्गलाई जस्तापाता वितरणकोे तयारी गरेको छ ।

जसमध्ये वडा नम्बर एकमा ९, दुइमा २५, तीनमा ७, चारमा १२, पाँचमा १३, छ मा ८, सातमा २०, आठमा ६२, नौमा ३४ र दशमा ११ घरलाई जस्तापाता वितरण गर्न लागिएको उपमेयर शकुन्तला बस्नेतले बताइन् । धनकुटा नगरपालिकाका ९ हजार ४ सय ६० घरमध्ये २ हजार १३ घरको छानो फुस र खरको छ ।

गत वर्ष धनकुटा नगरपालिकाका १ सय ५ जनाले अनुदानको जस्ता पाएका थिए । नगरपालिकाले ३ वर्षभित्र नगरलाई फुसको छानामुक्त बनाउने अभियान चलाएको छ । तीन वर्षभित्र सबै खरका छाना जस्ताले प्रतिस्थापन गरिने नगर प्रमुख चिन्तन तामाङले बताए ।