बेलबारीः युरोपियन देशमा पठाउने बहानामा धेरै युवा ठगिइरेहका बेला खाडी मुलुकमा समेत युवा ठगिएका उजुरी बढिरहेका छन् । वैदेशिक रोजगारीका लागि दुबइ पठाइदिने भन्दै लाखौं रुपैयाँ उठाएर सुनसरीका एक युवा सम्पर्कविहीन भएका छन् ।

हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह सम्पर्कविहीन भएका हुन् । ७ जना युवाबाट ११ लाख ९० हजार उठाएर साह सम्पर्कविहीन बनेको पीडितहरूले बताएका छन् । साहले हरिनगरा–४ का गन्नु मण्डल सरबरिया, अनिलकुमार मण्डल, इन्द्रदेव कुमार मण्डल, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल ठगिएका हुन् । आकर्षक कमाइको लोभ देखाएर उनीहरूसँग प्रतिव्यक्ति १ लाख ७० हजार रुपैयाँ असुलेका थिए । लामो समयसम्म पनि साह सम्पर्कमा नआएपछि पीडित युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।

आर्थिक अवस्था कमजोर भएका युवालाई साहले ठगी गरेको देखिएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । उनका अनुसार ती युवा १९ देखि ३५ वर्षका छन् । साहको खोजीका लागि पक्राउ पूर्जी जारी गरेर प्रहरी परिचालन गरेको समेत उनले बताए । साहलाई पक्राउ गरेर ठगी गरेको प्रमाणित भए कानुनअनुसार कारबाही अघि बढाइने उनको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि दुबइ पठाउने भनेर गत बैशाख ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पु¥याएपछि आफूहरू फिर्ता आउनुपरेको युवाहरूले दिएको उजुरीमा जनाइएको छ । कामदारका रूपमा लैजाने भने पनि पर्यटक भिसामा पठाउन लागेको भन्दै विमानस्थलले फिर्ता गरिदिएको पीडितले बताएका छन् ।

पर्यटक भिसा भएका व्यक्तिले कामदारका रूपमा जान नपाउने भन्दै विमानस्थलले फिर्ता पठाइदिएपछि आफूहरू ठगिएको भन्ने थाहा पाएको ती युवाले बताएका छन् । त्यही दिनदेखि साह सम्पर्कविहीन बनेको उनीहरूको भनाइ रहेको छ ।

काम गर्नका लागि दुबइको बलतिया कम्पनीमा पु¥याउने र नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुन्छ भनेर साहले सबैसँग १ महिना अगाडिदेखि नै पैसा उठाउन थालेका थिए । उनले गत चैतबाट पैसा उठाउने गरेका थिए । सबैको राहदानी लिएर साह सम्पर्कविहीन बनेको उनीहरूले बताएका छन् ।

यता युवाहरूले आफूहरूबाट उठाएको रकम फिर्ता हुनुपर्ने माग गर्न थालेपछि ठगीमा संलग्न साहका बुबा रामफल साहले जिल्ला अदालत सुनसरीमा पीडितविरुद्ध रिट हालेका छन् । विभिन्न धाक, धम्की दिएको भन्दै विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिनुपर्ने माग गर्दै उनले रिट दायर गरेका हुन् । सबैले अदालतमा उपस्थित भएर प्रतिउत्तर फर्काउने काम गरिसकेको युवाले बताए ।

दुबइ पठाइदिन्छु भन्दै ठगी गरेका युवाको नाममा नेपालमा कुनै पनि मेनपावर दर्ता नभएको श्रम अधिकृत सञ्जेलले बताए । म्यानपावर नभइकन कसैलाई विदेश पठाउन नमिल्ने सञ्जेलले बताए ।