धरानः धरानस्थित वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले २५ औं वार्षिक उत्सवको अवसरमा ग्राहकहरूका लागि बम्पर उपहार योजना सार्वजनिक गरेको छ ।

वार्षिक उत्सवको अवसरमा वराहले सबै व्यवसायिक केन्द्रबाट भदौ १ गतेदेखि १० गते सम्म २ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । वराहको डिपार्टमेन्ट स्टोर, सुनचाँदीका गरगहना, फेन्सी स्टोर लगायतका अन्य केन्द्रहरूमा विशेष छुटको व्यवस्था गरिएको शाखा प्रमुख मानबहादुर विश्वकर्माले बताए ।

वराहले वार्षिकोत्सव प्रत्येक वर्ष भदौ ५ गते मनाउने गरे तापनि यस वर्ष भने २५ औं वार्षिकोत्सव भव्यताका साथ सफल पार्न असोज १३ गते मनाउने तयारी गरिएको जनाएको छ ।

मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी उनले यो जानकारी दिएका हुन् । वराहले २५ औं रजत महोत्सवमा व्यवसायी मेलाको आयोजना गर्ने भएकाले पनि असोज १३ गतेका लागि सारिएको शाखा प्रमुख विश्वकर्माले बताए ।

आर्थिक वर्ष २०७५÷७६ ग्राहक उपहार योजना पनि भदौ ५ गते देखि वितरण गर्न थालिने विश्वकर्माले बताए । उनका अनुसार १ वर्षमा २० हजार देखि २० लाख सम्मको सामान खरीदकर्ताहरूलाई आकर्षक उपहारहरू राखिएका छन् भने २० लाख देखि माथिका खरीदकर्तालाई विशेष उपहार प्रदान गरिनेछ ।

प्रालिको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५ ÷ २०७६ मा १७ हजार २ सय ४ जना ग्राहकहरूले वराहको ग्राहककार्ड बनाएका छन् । १० हजार ३ सय ४ जनाले ग्राहक उपहार पाउने भएका छन् । २० लाख भन्दा बढीको सामान खरीद गर्ने ५ जना ग्राहकलाई वराह ज्वेलरीको २५ औँ वार्षिक उत्सवको अवसरमा विशेष सम्मान समेत गरिने योजना रहेको छ । ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकलाई असोज १३ गतेको वार्षिकोत्सवमा गोलाप्रथाबाट छनोट गरी स्कुटर उपहार प्रदान गरिने भएको छ ।