फाइल तस्बिर

धरानः एग्रो टुरिजमको अभियानलाई सार्थक बनाउन वराह ग्रुपले ६ करोड रुपैयाँ भन्दा बढीको लगानीमा मोेरङको ग्रामथान–५ तेतरियामा शुरू गरेको वराह कृषि उपज तथा पशुपालन परियोजनाले गति लिन थालेको छ ।

अघिल्लो वर्ष प्रदेश १ नं. का मुख्यमन्त्री शेरधन राईले परियोजनाको औपचारिक रूपमा उदघाटन गरेका थिए । साढे चार बिघा क्षेत्रफलमा शुरु भएको परियोजना यस वर्षदेखि बढेर ६ बिघा १४ कठ्ठामा परियोजना सञ्चालित रहेको छ ।

यसमा कृषिसँगै पशुपालनलाई पनि जोड दिइएको छ । पर्यटन वर्ष २०२० लाई सहयोग पु¥याउन यसै वर्षदेखि परियोजनाले एग्रो टुरिजमको अभियान सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रमा पर्यटकको आकर्षण बढाउन एकै क्षेत्रमा पशुपालनदेखि विभिन्न खाद्यान्नको खेती शुरु गरिएको हो ।

वराह ग्रुपको २५ वर्षे व्यावसायिक सफलतासँगै २ वर्ष अघिदेखि वराह कृषि उपज तथा पशुपालनतर्फ पनि लगानी गर्दै आएको छ । परियोजनाले विगत २ वर्षदेखि बेठी लगाएर रोपाइँ महोत्सवको आयोजना गर्दै आएको छ । त्यसैगरी माछा, कुखुरा, गाई तथा उन्नत जातका घाँसको उत्पादनलाई प्राथमिकता दिएको परियोजनाका अध्यक्ष मानबहादुर विश्वकर्माले बताए । उनका अनुसार हाल माछा, कुखुरा, बङ्गुर एवम् पाठा तथा माछाका भुरा उत्पादन गरी बिक्री गर्न थालिएको छ । उन्नत जातका बाख्रापालनका साथै मासुको पनि बिक्रीका लागि छुट्टै कक्ष सञ्चालन गरिने उनले बताए ।

उनले आगामी दिनमा डेरीमार्फत् दैनिक १ हजार लिटर दूध उत्पादन गर्ने लगायतका कार्य गर्दै परियोजना अघि बढिरहेको बताए । उनले भने, ‘वराहले उत्पादन गरेका दूधजन्य परिकार साथै अर्गानिक कृषि उत्पादनलाई धरानस्थित वराहकै वराह किचनसम्म ल्याइपु¥याउने योजनामा छौँ ।’

वराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने बिकले कृषिको उत्पादन, आधुनिकीकरण र यन्त्रीकरणमा जोड दिँदै उत्पादकत्व बढाउने र लागत घटाउनेतर्फ प्रालि लागिपरेको बताए ।
हाल २ बिघा १० कठ्ठा क्षेत्रफलमा माछापालनसहित कुखुरा फार्ममा १ हजार ५ सय कुखुरा, ३ ओटा गोठमा ३६ ओटा गाई पालिएको छ । बाँकी क्षेत्रफलमा विभिन्न प्रजातिका धान खेती गरिँदै आएको छ ।

स्वदेशमै रोजगारी सिर्जना गर्न साथै विदेशमा व्यापार बिस्तार गर्ने दीर्घकालीन सोच र परिकल्पनाका साथ वराहले २५ ओटा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । २०५२ सालमा सामान्य सुन पसलबाट व्यवसाय शुरु गरेको वराहले हालसम्म धरान, पोखरा, काठमाडांै, चितवनको नारायणघाट, हङकङ र बेलायतमा आफ्नो व्यापार विस्तार गरिसकेको छ । केही वर्षअघि मात्र दुबईमा पनि आफ्नो शाखा बिस्तार गरेको छ ।