धरानः आउँदै गरेको तीज पर्वलाई लक्षित गरी धरानका महिला उद्यमीद्वारा उत्पादित वस्तुको व्यापारिक मेला धरानमा शुरु भएको छ ।

तीजमा महिलाले प्रयोग गर्ने विभिन्न शृङ्गार, पहिरन लगायतका लत्ता कपडासहितका उत्पादन व्यापारिक मेलामा राखिएका छन् । महिला सञ्जाल धरानको आयोजनामा महिला उद्यमीको उत्पादनलाई प्रबद्र्धन तथा व्यापारलाई बजारीकरण गर्न मेलाको आयोजना गरिएको हो ।

धरान–१२ स्थित छाता चोकमा रहेको साप्ताहिक बजारमा मेलाको आयोजना गरिएको छ । ३ दिनसम्म चल्ने मेलाको प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरेका थिए । मेलाको उद्घाटन गर्दै सभामुख भण्डारीले देशको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न महिला उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

उद्यमी महिलाको तथ्याङ्कको आधारमा प्रदेश सरकार र स्थानीय सरकारले उद्यमशील महिला कार्यक्रम लागू गर्न उनले सुझाव दिए । उनले भने, ‘महिलामैत्री समाजको निर्माण गरी सबैको सहभागितालाई यस मेलाले टेवा पु¥याउँदै महिलाको आर्थिक उन्नतिको बाटो खोल्नेछ ।’

कार्यक्रममा प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइलीले तीजको अवसरमा आयोजित उद्यमी महिलाको उत्पादनलाई प्रबद्र्धन गरिने मेलाले परम्परागत शैलीमा मनाइने तीजको परम्परालाई आइसब्रेक गरेको बताइन् । महिलालाई आर्थिक क्षेत्रमा अघि बढाउन चुनौतीपूर्ण रहेको अवस्थामा उद्यमीहरूलाई प्रोत्साहन गरिएको मेलाले आर्थिक समृद्धिमा टेवा पु¥याउने उनको भनाइ थियो ।

‘आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका साथ शुरु भएको मेलामा २५ वटा स्टलमा सुनसरीका महिला उद्यमीले उत्पादन गरेका वस्तु बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । महिलाद्वारा सञ्चालित लघु उद्योग, हस्तकला, ढाका कपडा उद्योगबाट उत्पादित खाद्य, घरायसी एवम् लत्ताकपडा, गुडियालगायतका सामग्री मेलाको आकर्षणका रूपमा रहेका छन् ।

मेलाको अवसरमा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, उत्पादनको बजारीकरणसहित तीजको अवसरमा महिलाको मनोरञ्जनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने सञ्जालकी अध्यक्ष सबिता राईले बताइन् । तीजको अवसरमा महिलालाई उद्यमी बनाउन प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको उनको भनाइ छ ।