धरानः महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको तीज विशेष महिला उद्यमी मेला सम्पन्न भएको छ ।

महिला सञ्जाल धरानको आयोजनामा भएको तीन दिने महिला उद्यमी बजार प्रबद्र्धन तथा प्रदर्शनी मेलामा करीब ५ लाख रुपैयाँको कारोबार भएको सञ्जालकी अध्यक्ष सबिता राईले बताइन् ।

महिला उद्यमीहरूको उत्पादनलाई राष्ट्रियकरण गर्दै उनीहरूलाई प्रोत्साहित गर्न तीजको अवसरमा महिला उद्यमी मेलाको आयोजना गरिएको थियो ।

मेला समापन कार्यक्रममा प्रदेश नं १ की उपसभामुख सरस्वती पोखरेलले महिलाहरू उत्पादनसँग जोडिन आवश्यक भएको बताइन् । ‘महिलाहरू आफैँ उद्यमी र आत्मनिर्भर हुनु अहिलेको पहिलो आवश्यकता हो’, उनले भनिन्, ‘महिलाहरू उद्यमी बनेर आत्मनिर्भर भए मात्र नेपाल समृद्ध हुनेछ ।’

नेपालका महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक रूपमा अघि नबढेसम्म मुलुक समृद्ध नहुने उनको भनाइ थियो । बिहीबार शुरु भएको मेलामा २५ वटा स्टल रहेका थिए ।