इटहरीः बेलबारी–२ स्थित एक सामाजिक संस्थाको जग्गा किनबेच भएको छ । सहारा परिवार नेपाल (सहारा बालग्राम) का नाममा रहेको जग्गा किनबेच भएको छ ।

अदालतमा गई चोरबाटो प्रयोग भएर जग्गा किनबेच भएको बताइएको छ । संस्थाको नाममा रहेको १ बिघा ९ कठ्ठा मध्ये १ बिघा ८ कठ्ठा ३ धुर व्यक्तिको नाममा गइसकेको छ । भूमिहीन तथा असहायलाई सहारा दिँदै आएको संस्थाकै जग्गा बिक्री भएको हो । सहाराका नाममा ६ कित्ता जग्गा रहेको थियो ।

मालपोत कार्यालय बेलबारीका अनुसार २८ कठ्ठा ३ धुर जग्गा इटहरीका डम्बरबहादुर तामाङको नाममा गएको देखिन्छ । मालपोतमा भएको रेकर्डअनुसार साबिक हरैँचा ५ ख हाल बेलबारी २ को कित्ता नम्बर १०७८ को ५ कठ्ठा, कित्ता नम्बर ७८५ को ७ कठ्ठा, कित्ता नम्बर १०८३ को ३ कठ्ठा, कित्ता नम्बर १०८१ को ४ कठ्ठा, कित्ता नम्बर १०९० को ५ कठ्ठा र कित्ता नम्बर ८१९ को ४ कठ्ठा ३ धुर क्षेत्रफल जग्गा तामाङको नाममा गएको देखिन्छ ।

मालपोतमा भएको अभिलेखमा लेखिएको मिसिल नम्बर ८५ मिति २०७५ मंसीर ११ को दाखिल खारेज (दाखा)को निर्णयले मोरङ जिल्ला अदालतको चलानी नम्बर ४५६० मिति २०७५ असोज १४ को मिलापत्र अनुसार ठेली नम्बर ३०।४।८३ को जग्गा सहारा परिवारको नामबाट डम्बरबहादुर तामाङको नाममा आएको छ । हाल सहारा परिवारको नाममा साविक हरैँचा ५ ख हाल बेलबारी २ को कित्ता नम्बर १०९४ को १० धुर र कित्ता नम्बर १०९६ को ७ धुर जग्गा मात्रै रहेको छ ।

सहारा परिवार नेपाल जिल्ला प्रशासन कार्यालय मोरङमा २०५५ सालमा दर्ता भएको देखिन्छ । दर्ता नम्बर ८७५ रहेको छ । भूमिहीनलाई घरसहितको बासको व्यवस्था र असहाय बालबालिकालाई आश्रमको सेवा प्रदान गर्ने उद्देश्यले स्थापित सहारामा भवन तथा संरचना निर्माण लगायतमा विदेशी नागरिकको लगानी रहेको छ ।

अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिसीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो । विक्रम सम्वत् २०५६ भदौ ४ गतेबाट सहारा सञ्चालनमा आएको थियो ।

निर्माणमात्रै होइन सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी लगानी नै आइरहेको केही स्थानीय बताउँछन् । सहारा परिसरमा बनेका घरमा अहिले २८ परिवार बस्दै आएका छन् ।

२०६० साल असार ६ गते तामाङबाट संस्थाले ५० लाख ऋण लिएको थियो । ५ वर्षमा तिर्ने भाकामा पैसा दिएको भनी तामाङ र संस्थाबीच अदालतमा गरेको मिलापत्रमा उल्लेख गरिएको छ । अदालतमा तामाङले दिएको निवेदनमा पटकपटक ताकेता गर्दा समेत पैसा फिर्ता नभएको उल्लेख गरिएको छ । संस्थाका तत्कालीन अध्यक्ष शिवप्रसाद बरालले पुन ५ वर्षमा तिर्ने भनी २०६९ कात्तिक १० गते सम्झौता गरेको उल्लेख गरिएको छ ।

५ वर्षसम्म पनि नतिरेको साँवा ५० लाख र ब्याज ५० लाख गरी १ करोड रुपैयाँ जेथाबाट दिलाइपाऊँ भनी तामाङले अदालतमा निवेदन दिएका थिए । २०७५ असार २२ मा सहारा परिवारले निर्णय गरी तामाङलाई जग्गा पास गरेको बताइएको छ ।