सङ्खुवासभाः सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने इसुवा हाइड्रोपावर लिमिटेडले ठगेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।
केबीएनआर इसुवा हाइड्रोपावर लिमिटेडले कीर्ते कागजात बनाएर ३० करोड ठगी गरेको पीडितको दाबी छ । गाउँका निरक्षर सोझा सिधालाई प्रलोभनमा पारेर खरीद गरेको जग्गाबाट ३० करोड ठगेको पीडितको आरोप छ ।
हाइड्रो कम्पनीले स्थानीयसँग प्रतिआना एक लाखदेखि डेढ लाखसम्ममा खरीद गरे पनि मालपोत कार्यालय खाँदबारीमा भने १४ लाख रुपैयाँमा खरीद गरेको भन्दै कागजात तयार गरी ठगी गरेको स्थानीयको दाबी छ ।
कम्पनीका पदाधिकारीले स्थानीय उपभोक्तालाई विभिन्न प्रलोभनमा पार्दै कम्पनीकै नाममा जग्गा खरीद गर्ने सहमति गरेको थियो । हाइड्रो पावरका वीरेन्द्रबहादुर न्यौपाने र सञ्चालक समेतको उपस्थितिमा २०७५ फागुन १ गते कम्पनीको नाममा जग्गा खरीद गर्ने सहमति भएको थियो । तर कम्पनीका फिल्ड मेनेजर जितेन्द्र श्रेष्ठको नाममा खरीद गरेको कागजात बनाएको पाइएको छ ।
स्थानीयसँग १० लाखमा किनेको जग्गा जितेन्द्रले कम्पनीलाई १ करोड ७० लाखमा बिक्री गरेको प्रमाणसमेत भेटिएको छ । स्थानीयले कम्पनीसँग तत्काल जग्गा फिर्ता गर्न अल्टिमेटम दिएको पीडित सङ्घर्ष समितिका लाक्पा शेर्पाले बताए ।
मकालु गाउँपालिका– १ मा निर्माण हुने हाइड्रो कम्पनीले सोही वडाका अध्यक्ष वाङदी छिरिङ शेर्पालाई हात लिएर काम गरेको पुष्टि भएको छ । काठमाडौंमा सुटुक्क सरोकार समिति गठन गरेर गाउँमै नपुगी कागजात मिलाएर अध्यक्ष शेर्पाले स्थानीयवासीलाई ठगी गर्न सहयोग गरेकोे पीडित कर्मा शेर्पाले आरोप लगाए ।
उनले २ लाख रुपैयाँमा बेचेको जग्गा अध्यक्ष र कम्पनीका प्रतिनिधि भनिएका जितेन्द्र श्रेष्ठले ३५ लाखमा कम्पनीलाई नै बिक्री गरेको प्रमाणसमेत फेला परेको छ । कम्पनीले प्रभावित क्षेत्रबाट २ सय ५२ रोपनी जग्गालाई करीब ५ करोडमा खरीद गरी मालपोत कार्यालय खाँदबारीसँग मिलोमतो गरी करीब ३५ करोड मूल्यमा खरीद गरेको कागजात बनाएको पुष्टि भएको छ ।
वडाध्यक्षको कमजोरी भन्दै पीडितले गाउँपालिकामा धर्ना दिएको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली याम्फु राईले स्वीकार गरिन् । वडाअध्यक्षको नाम जोडिएपछि पटकपटक सम्पर्क गर्दा पनि फोन नउठाएको र ३ महिना काठमाडौं नै बसेको राईले बताइन् ।
९२ दशमव २ मेगावाट क्षमताको हाइड्रो पावरले बिजुली उत्पादनका लागि काम अघि बढाए पनि स्थानीयवासीलाई नै गुमराहमा पारेर करोडौ ठगी गरेको राईले बताइन् ।
निरक्षर जनतालाई ठगेको प्रमाणित भएको र आम जनता तथा आफ्नो मन दुखेको उनको भनाइ थियो । ‘हाइड्रो सञ्चालन गर्नेभन्दा पनि कमाएर कम्पनी अन्यत्रै बिक्री गर्ने नियत राखेको पाइयो,’ कार्यवाहक अध्यक्ष राईले भनिन् । जनतालाई चित्त नबुझाए काम अघि बढाउन नदिने समेत उनले चेतावनी दिइन् ।
वडाध्यक्ष वाङदी छिरिङ शेर्पाले फोनसमेत नउठाएको र बिनाजानकारी ३ महिना काठमाडौंमा बसेर कार्यपालिकाको दुई ओटा बैठकमा अनुपस्थित भएको राईले बताइन् । निमुखा जनतालाई छक्याएर मालपोत कार्यालयका कर्मचारीले केही रकमको प्रलोभनमा परी रातारात काम गरेको दाबी स्थानीयको छ । हतारमा काम गर्दा केही कागजातमा मालपोत कार्यालयको छापसमेत लगाउन छुटेको पाइएको छ ।
गुनासोपछि मालपोत कार्यालयमा बुझ्दा उल्टै हाइड्रो कम्पनीको पक्षमा बोल्ने गरेको पाएपछि आफ्नो क्षेत्रमा तत्काल गरेको कित्ताकाटको सबै विवरण माग गरेको राईले बताइन् । स्थानीयको नाममा बनेको सरोकार समिति नै गैरकानुनी भएको र मालपोत कार्यालय तथा वडाध्यक्ष नै स्थानीयलाई ठग्न संलग्न भएको गाउँपालिकाले निष्कर्ष निकालेको छ ।