ताप्लेजुङः माछापुछ्रे बैंकले ताप्लेजुङमा शाखा बिस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकको १ सय २२ औँ शाखाको मङ्गलबार एक कार्यक्रमका बीच फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रूपमा उद्घाटन गरे । असारमा नै कार्यालय स्थापना गरी कारोबार गर्दै आएको बैंकले मङ्गलबार मात्रै औपचारिक उद्घाटन गरेको हो ।
बैंकले मुलुकभर रहेका १ सय ३६ ओटा शाखाबाट बैंकिङ सेवा दिँदै आएको ताप्लेजुङ शाखाका प्रबन्धक उमेश बास्कोटाले बताए । यस्तै, १ सय ५७ ओटा एटिएम मेसिन सञ्चालन गरेको बैंकले १ सय २३ ठाउँमा शाखारहित बैंकिङ सेवा समेत सञ्चालन गरेको जनाएको छ ।
देशका सबै क्षेत्रमा शाखा विस्तार गरी बैंकिङ सेवा प्रवाह गर्ने साथै ग्रामीण क्षेत्रका सर्वसाधरणलाई समेत बैंकिङ कारोबारको पहुँचमा ल्याउने उद्देश्यले ताप्लेजुङमा समेत शाखा विस्तार गरिएको माछापुछ्रे बैंकका १ नम्बर प्रदेश प्रमुख अजय आचार्यले बताए ।
बैंकले मङ्गलबारदेखि नै आगामी १७ गते सम्म खाता खोल्ने महिलालाई आकर्षक चुरा र पोते वितरण गर्ने योजना रहेको समेत जनाएको छ । हरितालिका तीजको अवसरमा उक्त योजना ल्याइएको बताइएको छ ।