इटहरीः इटहरी उपमहानगरपालिकाले भदौ ११ गतेदेखि लागू हुने गरी राजमार्गमा पार्किङ गर्ने सिटी सफारीबाट शुल्क लिन शुरु गरेको छ । टेन्डर नै आह्वान गरेर उपमहानगरले शुल्क लिन शुरु गरेको हो ।

इटहरी उपमहानगरपालिकाको आफ्नै पार्किङ स्थल भने छैन । पूर्वपश्चिम राजमार्ग र कोशी राजमार्गमा रोकिएका सफारीबाट पैसा लिन शुरु गरेको हो ।

उपमहानगरले जथाभावी शुल्क लिएको भन्दै सफारी चालक भने आन्दोलनमा उत्रिएका छन् । आफूहरूले कतै पार्किङ गर्ने स्थान पनि नपाएको तर बिनाकाममा दैनिक १५ देखी ३० रुपैयाँसम्म बुझाउनुपर्ने बाध्यता आइपरेको उनीहरूको भनाइ छ ।

पाथीभरा कन्सट्रक्सनले ठेक्काको जिम्मा पाएको छ । कम्पनीले बिल नै बनाएर पैसा उठाउन शुरु गरिसकेको छ । दैनिक पार्किङ तथा सरसफाइबापत भनेर पैसा लिने गरिएको हो ।
तर इटहरी उपमहानगरपालिकामा सरसफाइको लागि वेस्ट म्यानेजमेन्ट कम्पनीसँग सम्झौता भइसकेको छ । बिना कारण र प्रयोजन उपमहानगरले पैसा असुल्ने र श्रमजीवीलाई पैसा लिने काम गरेको भन्दै सफारी चालक आन्दोलनमा उत्रिएका हुन् । इटहरी–४ स्थित वडा कार्यालयमा गएर उनीहरूले शुल्क फिर्ता दिनको लागि निवेदन समेत दिइसकेका छन् ।

आफूहरू मारमा पर्दा श्रमिक सङ्गठनदेखि सफारी चालक सङ्घले समेत बेवास्ता गरेको सफारी चालक मनोज केसी बताउँछन् । केही गरौँ र परिवार पालौँ भन्ने लागेर रिक्सा किनेको उनले सुनाए । तर सवारी किनेको ४ महिनामै यसरी दुःख दिने काम भएको उनको भनाइ छ ।