इटहरीः इटहरीका सबै शैक्षिक संस्थाहरूसँग विप्लव समूहले चन्दा माग गरेको पाइएको छ । बिहीबार राती इटहरीस्थित सुषमा गोदावरी कलेजमा बम बिस्फोट भएपछि यहाँका कलेज तथा निजी विद्यालयमा विप्लव समूहले चन्दा माग गरेको विषय सार्वजनिक भएको हो ।

शैक्षिक संस्थाका अनुसार चन्दाको रकम तोकिएको छ । जसमा इटहरीका विश्व आदर्श र सुषमा कलेजलाई पाँचपाँच लाख नगद चन्दा माग गरिएको छ । यस्तै कस्तुरी र कोशी सेन्ट जेम्स कलेजलाई तीनतीन लाख रुपैयाँ चन्दा माग गरिएको छ ।

सुनसरीमा सञ्चालित अन्य निजी स्कुलहरूमा समेत चन्दा माग गरिएको छ । केही बोर्डिङ स्कुललाई २ लाख र केहीलाई १ लाख रुपैयाँ चन्दा माग गरिएको पत्र फेला परेको छ ।

‘शैक्षिक संस्थाहरूको नाममा सम्बोधन गरी पत्र पठाइएको त्यसपछि कुराकानी अनि फोनमार्फत् पैसा माग्ने काम गरिएको छ’, एक कलेजका प्रिन्सिपलले भने ।

यहाँसम्म कि विप्लवका कार्यकर्ताहरू कलेज तथा बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपलको घरमा समेत पुग्ने गरेका छन् ।
‘इटहरीका प्राय संस्थाहरूमा यस्तो आतङ्क छ, कति साथीहरूले त पैसा बुझाएका पनि छन्’, अर्काे कलेज सञ्चालक समितिका अध्यक्षले भने । चन्दासँगै उनीहरूले सिफारिश गरेका विद्यार्थीलाई निःशुल्क पढाउन दबाब दिएको उनले बताए ।

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले इटहरीसँगै धरानलगायतका अन्य कलेजहरूमा पनि विप्लव समूहले चन्दा माग गरेको बताए । सरकारबाटै प्रतिबन्धित यस्ता समूहको आतङ्कका कारण शैक्षिक वातावरणमा असर पुगेको उनको भनाइ छ ।

‘तनावको अवस्था छ, अझ इटहरी र धरानमा बम बिस्फोट नै गराएपछि मानसिक रूपमा हामी आतङ्कित बनेको घिमिरे बताउँछन् । शैक्षिक क्षेत्रमा देखिएको यस्तो आतङ्क तत्काल रोक्न प्रशासनलाई आग्रह गरिएको उनले बताए ।

मोहन कार्कीको संलग्नता
भदौ १५ गते इटहरीबाट पक्राउ परेका विप्लव कार्यकर्ता मोहन कार्कीले नै इटहरीका विभिन्न कलेज तथा बोर्डिङ स्कुलमा चन्दा माग गरेको दाबी गरिएको छ ।

इटहरीमा सञ्चालित एक बोर्डिङका प्रिन्सिपलले प्रहरीले गैसारबाट पक्राउ परेका कार्कीले धेरै पटक विद्यालयमा आएर चन्दा मागेको दाबी गरे ।

विद्यालयमा कार्कीसँगै अन्य दुई जना पनि साथमा आएको उनले बताए । कार्की विप्लव समूहको सुनसरी जिल्लाको आर्थिक विभागका संयोजक भएको प्रहरी अनुसन्धानले देखाएको छ । उनको साथबाट बरामद भएको डायरीमा पनि प्रहरीले कलेज तथा बोर्डिङ स्कुलको सूची भेटेको थियो ।

बम राख्नेको पहिचान
बिहीबार इटहरीस्थित सुषमा गोदावारी र धरानको दिल्ली पब्लिक स्कुलमा भएको बम बिस्फोटमा संलग्नहरू विप्लवका कार्यकर्ता भएको पहिचान भएको छ । प्रहरी स्रोतका अनुसार उनीहरूको खोजतलास भइरहेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेष्टिगेशन टिम (रिट), जिल्ला प्रहरी कार्यालय सुनसरी र इटहरी प्रहरीको संयुक्त टोलीले उनीहरूको खोजी गरिरहेको छ ।

यता। विप्लव समूहबाट सञ्चालित ई रातो खबर अनलाइनले भने धरानको दिल्ली पब्लिक स्कुल भारतीय लगानीबाट सञ्चालित भएको र राष्ट्रियताविरोधी शिक्षा लागू गरेको भन्दै कारबाही गरिएको जनाएको छ ।

इटहरीको सुषमा गोदावारी कलेजले अत्यन्त महङ्गो शुल्क लिएर विद्यार्थी र अभिभावकहरूको ढाड सेक्ने काम गरेको आरोप लगाइएको छ ।