बिर्तामोडः झापाको बिर्तामोडमा रहेर लामो समयदेखि घरजग्गा व्यवसायमा सक्रिय शिवम हाउजिङले बिर्तामोडका दुइटा वडामा सामुदायिक बसोबास (हाउजिङ) शुरु गरेको छ । सो कम्पनीले बिर्तामोडको ४ र ६ नम्बर वडामा घर निर्माण गर्न शुरु गरेको हो ।
बिर्तामोड नगरपालिका –४ मा १ बिगाहा १५ कठ्ठा ६ धुर जमिनमा २९ ओटा घर निर्माण गर्न शुरु गरिएको जनाइएको छ । ‘२९ ओटा घर र एउटा सामुदायिक भवन निर्माण हुनेछ’, कार्यक्रममा हाउजिङका तर्फबाट एलिजा शिवाकोटीले भनिन्, ‘सबै घरमा बिजुली, टेलिफोन, खानेपानी, केवलका तार अण्डरग्राउण्ड गरिनेछ ।’ त्यस हाउजिङलाई कम्पनीले सुगम कोलोनी नामकरण गरेको छ ।

पहिलो चरणमा १० ओटा घर निर्माणको काम शुरु गरिएको उनले बताइन् । निर्माण सम्पन्न एउटा घरको न्यूनतम मूल्य ९९ लाख रुपैयाँ रहने जनाइएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका –६ मा रहेको ५ बिगाहा ५ कठ्ठा जमिनमा ८० ओटा घर निर्माणको काम शुरु गर्न लागिएको हाउजिङका निर्माणकर्ता निर्मल भट्टराईले बताए । उनले ८० ओटा आधुनिक र सुविधासम्पन्न घरसँगै ४ ओटा सामुदायिक भवन निर्माण गरिने जानकारी दिए । शिवम् हाउजिङले बिर्तामोड नगरपालिकामा नगरवासीले गौरव गर्न लायक योजना अघि सारेको भट्टराई बताउँछन् । सामुदायिक भवनमा अत्याधुनिक स्वीमिङ पुल, जिम हाउस, लाइब्रेरी र पार्टी प्यालेस समेतको सुविधा रहने बताइएको छ ।

विभिन्न खेलका लागि कभर्ड हल निर्माण गरिने ‘हरिहर कोलोनी’ का सञ्चालक तथा शिवम् हाउजिङका प्रबन्ध निर्देशक सुदीप प्रसाईँले जानकारी दिए । एक अर्व रुपैयाँ भन्दा बढीको लगानीमा निर्माण हुने संरचनामा बिर्तामोडका युवा व्यवसायीको लगानी रहने बताइएको छ । हरेक घर साढे २ तलाको हुने जानकारी निर्माण पक्षले दिएको छ ।

पर्याप्त पार्किङसहितको सुरक्षित र सुविधासम्पन्न हाउजिङमा बसोबास गर्न यहाँका खरीदकर्ता अग्रसर हुने विश्वास लिइएको अर्का सञ्चालक मनोज प्रसाईँले बताए । घोषणा गरेका सबै सुविधा निर्मित संरचनामा रहने कम्पनीले जनाएको छ ।

त्यस्तै, बिर्तामोडमा ‘सानो संसार’ हाउजिङ निर्माण सम्पन्न हुने चरणमा रहेको छ । योसँगै बिर्तामोडमा दुई ओटा हाउजिङ कम्पनीले तीन ओटा संरचना निर्माण गर्ने भएका छन् ।