धरानः जिल्लाकै उत्कृष्ट सहकारी ठहरिएको धरानको वराह बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा १ अर्ब भन्दा बढीको कारोबार गरेको छ ।

धरानमा आयोजित दशौं वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा जनाइएअनुसार संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ३४ करोड ५८ लाख ९ हजार ३ सय १८ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ९६ करोड ३९ लाख ८१ हजार ४ सय ५८ रुपैयाँ निक्षेप फिर्ता गरेको छ । साधारणसभामा संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले आर्थिक वर्ष ०७५÷०७६ मा खुद नाफा १ करोड ४३ लाख १६ हजार ९८ रुपैयाँ भएको बताए ।

सो सहकारीले ३ हजार ५ सय २६ जना शेयर सदस्यबाट ३६ करोड ५७ लाख ७५ हजार ६ सय रुपैयाँ शेयर रकम सङ्कलन गरेको छ । संस्थाले यस वर्ष १६ प्रतिशतले लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । सहकारीले आर्जन गरेको केही रकम सामाजिक कार्यमा समेत लगाउँदै आएको जनाएको छ । संस्थाले गत आर्थिक वर्षमा १५ लाख ९० हजार ६ सय ७७ रुपैयाँ कर तिरेको र हालसम्म ८९ लाख २७ हजार ६ सय ३९ रुपैयाँ राज्यलाई कर तिरेको उनले बताए ।

संस्थाले गत असार मसान्तसम्ममा ६० करोड ७३ लाख ६२ हजार ९ सय ४६ रुपैयाँ ऋण लगानी गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबाट आएको ऋण १ करोड २५ लाख रुपैयाँ संस्थाका १ सय ३४ जना शेयर सदस्यलाई ऋण प्रवाह गरी हालसम्म ५ सय जनालाई स्वरोजगार बनाउन सकेको विश्वकर्माले बताए ।

संस्थाले यस वर्ष जगेडा कोषमा वृद्धि गर्दै १ करोड २१ लाख ६३ हजार २ सय ५१ रुपैयाँ पु¥याएको उनले बताए ।

जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष नरेशकुमार इवारमको प्रमुख आतिथ्यमा भएको वार्षिक साधारण सभामा सर्वाधिक निक्षेपकर्ता, अनुशासित कर्मचारी, असल ऋणी र सक्रिय अभियन्तालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।