ताप्लेजुङः ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाईको सुत्केरी भत्ता बापत पशुपालकलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ५२ ओटा गाईको सुत्केरी भत्ता बापत १० लाख ४० हजार रुपैयाँ गाईधनीलाई प्रदान गरिएको हो । प्रत्येक गाई धनीलाई २० हजार रुपैयाँका दरले भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए ।
गाउँपालिकालाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक वर्ष २०७४÷०७५ देखि भत्ता दिन थालिएको कडरियाको भनाइ छ । शुरुको वर्षमा ५१ ओटा गाईको सुत्केरी भत्ता वितरण गरिएको थियो । गाईको औषधीउपचारका लागि ५ हजार र गोठ सुधारका लागि १५ हजार गरी २० हजारका दरले भत्ता दिइएको हो । पछिल्लो समयमा पशुपालन घट्दै गएको पाइएपछि पशुपालकलाई प्रोत्साहन गर्नसमेत भत्ताको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । यसरी भत्ता प्राप्त गर्नका लागि कम्तीमा २ ओटा गाई वा भैँसी पालेको हुनुपर्ने प्रावधान बनाइएको छ । यस्तै, सुधारिएको गोठ, घाँसको व्यवस्थापन र दैनिक कम्तीमा ७ लिटर दुध हुनुपर्ने समेत प्रावधान छ ।
यता, गाउँपालिकाले भत्ता दिन थालेपछि गाईपालनतर्फ धेरैको आकर्षण बढ्न थालेको छ । ‘भत्ता दिन थालिएपछि स्थानीय निकै उत्साहित बनेका छन् । धेरैले गाई, भैँसी पाल्न थालेका छन्,’ अध्यक्ष कडरियाले भने, ‘अधिकांश किसान डेरी सञ्चालन गर्छौ भनेर लागि परेका छन् ।’
डेरी सञ्चालन गर्नेलाई समेत सहयोग गर्ने कडरियाको भनाइ छ । सुत्केरी गाईको भत्ता पाएपछि वडा नम्बर २ को सादेवा र ३ मा पर्ने आँखोपमा २ वटा डेरी नै स्थापना भइसकेका छन् । वडा नम्बर ५ का अध्यक्ष तेजेन्द्र लिम्बूले आफ्नो वडाभित्र २ ओटा डेरी सञ्चालनका लागि ५० हजारका दरले अनुदान समेत दिएको बताए ।
दुग्धजन्य पदार्थमा गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै पशुपालनबाटै स्थानीयको आम्दानी बढाउने गाउँपालिकाको योजना रहेको बताइएको छ । सुत्केरी गाईलाई भत्ता वितरण गर्ने कार्यक्रम निकै प्रभावकारी देखिएकाले चालु आर्थिक वर्षका लागिसमेत ४० लाख बजेट विनियोजन गरी कार्यान्वयनको प्रक्रियामा राखिएको जनाइएको छ । सिदिङ्वा गाउँपालिकामा ७ ओटा वडा रहेका छन् । कृषि उत्पादन र पशुपालनका हिसाबले सबै वडा उपयुक्त देखिएकाले कृषि र पशुपालनमा लगानी बढाउँदै लैजाने गाउँपालिकाको योजना रहेको बताइएको छ ।