धरानः सहकारीमा पैसा बचत गरेर ब्याज खाँदै बुढेसकाल बिताउँला भन्दै मोरङ डाँगीका कृष्णबहादुर विश्वकर्माले धरानस्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा २१ लाख रुपैयाँ मुद्दति खातामा राखेका थिए । तर सहकारीका अध्यक्ष नै रकम हिनामिना गरेर फरार भएपछि कसरी अब जीविकोपार्जन गर्ने भनी उनी अलमलमा परेका छन् ।

डाँगीमा रहेको जिउनी खेत बेचेर उनले सहकारीमा रकम जम्मा गरेका थिए । ८० वर्षीय विश्वकर्मा २१ लाख रुपैयाँको ब्याजले बुढेसकाल सुखद तरिकाले बिताउने सपनामा थिए । अहिले भने उनी न्यायका लागि भौँतारिरहेका छन् ।

सो सहकारीमा सङ्कलकको काम गर्ने धरान १५ की विमला विश्वकर्माले १ सय ४५ जनाको ३५ लाख रुपैयाँ बुझाएकी थिइन् । सहकारीका अध्यक्षले रकम हिनामिना गरेपछि अहिले उनको घरमा निक्षेपकर्ता आउने गरेका छन् । सहकारी चिन्दैनौँ भन्दै विमलासँग नै बचत गरेको रकम माग्दैछन् । उनको घर परिवार नै बिग्रने अवस्था आइसकेको छ ।

सो संस्थामा बचत गर्ने करिब ३ हजार बचतकर्ताको ८ करोड २३ लाख रुपैयाँ हिनामिना भएको छ । रकम हिनामिना गरेर फरार रहेका सहकारीका अध्यक्ष कृष्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरिसकेको छ । तर बचत गरेको रकम निक्षेपकर्ताले दिनहुँ माग्न घरमै आउँदा सङ्कलनकर्ता पनि तनावमा छन् ।

पीडितका अनुसार सहकारी सञ्चालक विश्वकर्माको शिखर सगरमाथा सुनचाँदी इण्डष्ट्रिज प्रालिमार्फत् सुनको धितो बन्धकीको कारोबार हुन्थ्यो । पछि नेपाल राष्ट्र बैंकले सुनचाँदी पसलमा धितो बन्धकीलाई कडाइ गर्न थालेपछि सहकारी दर्ता गरी उनले आफ्नो कारोबारलाई निरन्तरता दिएका थिए ।

विश्वकर्माले सहकारीमा दैनिक बचतकर्तालाई छुट्टै खाता बनाएका थिए भने मुद्दती बचत गर्नेलाई सहकारीको बचतखातामा चढाउने तर कम्प्युटरमा इन्ट्री भने गर्दैनथे । उनले सुनचाँदीको कारोबारमा मुद्दती बचतको रकम खर्च गर्ने गरेका थिए ।

अहिले सहकारीको खातामा दैनिक बचतको २ करोड ७ लाख रुपैयाँमात्रै कारोबार गरेको देखिन्छ, मुद्दती खाताको ७ करोड १६ लाख रुपैया ँकतै पनि देखिँदैन । तर बचतकर्तालाई दिएको सहकारीको खातामा भने सो रकम देखिन्छ ।

सहकारीको रकम हिनामिना गरेर अध्यक्ष विश्वकर्मा असार २१ गते फरार भएका थिए । सञ्चालक समितिसहित बचतकर्ताले प्रहरीमा उजुरी दिएपछि उनलाई बुटबलबाट साउन २९ गते प्रहरीले पक्राउ गरेको थियो । जेठा छोरा मोहन दर्नाललाई प्रबन्ध निर्देशक बनाएर तथा घर परिवार र नजिकका व्यक्तिलाई सदस्य बनाएर उनले सहकारी चलाएका थिए । समितिको उजुरी परेपछि प्रहरीले प्रबन्ध निर्देशक दर्नाल र लेखापाल कमला बिकलाई पनि पक्राउ गरेको थियो ।

सहकारीको रकम हिनामिना हुनुमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माको पनि हात रहेको पीडितको आरोप छ । सहकारी अध्यक्ष फरार हुने बित्तिकै उनकी श्रीमतीको नाममा रहेको जग्गा पूर्व वाणिज्यमन्त्री विश्वकर्माले आफ्नी श्रीमतीको नाममा नामसारी गर्नुले उनको पनि हात रहेको हुन सक्ने पीडित नरेश शाही ठकुरी बताउँछन् ।

उनले भने, ‘दुई छोरालाई साक्षी नराखी, श्रीमान् फरार रहेको समयमा हतार गरेर आफ्नी श्रीमती डम्बरकुमारी पौडेलको नाममा जग्गा किन नामसारी गरियो, अध्यक्षको सम्पत्ति जोगाउनका लागि नाटक रचिएको हो ।’ अध्यक्ष विश्वकर्मा बस्दै आएको घर उनको श्रीमती विष्णुमाया विश्वकर्माको नाममा रहेको थियो । पूर्व वाणिज्यमन्त्री विश्वकर्माकै आडमा रकम हिनामिना भएको उनी बताउँछन् ।

प्रहरीले सुनसरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि अध्यक्ष विश्वकर्मा पुर्पक्षका लागि थुनामा रहेका छन् भने प्रबन्ध निर्देशक दर्नाल २ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । लेखापाल कमला भने धरौटी बुझाउन नसक्दा थुनामै छिन् । यता, सञ्चालक समितिका दुई सदस्य पनि २ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

धरौटीमा धमाधम सञ्चालक छुट्न थालेपछि पीडितहरूले सङ्घर्ष समिति नै गठन गरी सामुहिक ठगीको मुद्दा दर्ता गराएका थिए । तर प्रहरीले फौजदारी अभियोगमा मुद्दा दर्ता गरिदिएकाले अदालतमा पीडितको सुनुवाइ नभएको सङ्घर्ष समिततिा अध्यक्ष तिलक विश्वकर्मा बताउँछन् ।

उनले भने, ‘सञ्चालक समितिको जग्गा रोक्का गरेर उनीहरूलाई छानबिन गरी पीडितलाई न्याय दिलाउन आग्रह गर्दछु ।’

अध्यक्ष विश्वकर्मा फरार हुनेबित्तिकै धरान नगर सहकारी समन्वय समितिमा उजुरी परेको थियो । वडा नम्बर १५ का अध्यक्ष नरेशकुमार इवारम नै समन्वय समितिमा पनि रहेका छन् । वडाध्यक्षले पूर्व वाणिज्यमन्त्री विश्वकर्माको दबाबमा जग्गा नामसारी गरिदिएको उनको भनाइ छ ।

उनले भने, ‘२१ गते अध्यक्ष फरार भए, २७ गते मीन विश्वकर्माकी बुढीको नाममा जग्गा नामसारीको सिफारिश भयो । २९ गते मालपोतले जग्गाधनी पूर्जा नै दियो । त्यसैले यो सबै खेलमा पूर्व वाणिज्यमन्त्रीको ठूलो हात छ ।’

डुबेको रकम फिर्ता गर्न स्थानीय सरकार, प्रशासन, प्रहरीलाई गुहार्दा पनि कसैले सहयोग नगरेको पीडितको गुनासो छ । कानुनी प्रावधान अनुसार नै सहकारीमा डुबेको रकम उठाइदिन पहल गर्न उनीहरूको आग्रह छ । रकम उठाउन कतैबाट पनि पहल नभए आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका छन् ।