धरानः सरकारले साउन १ गतेदेखि अनिवार्य व्यक्तिगत पान नम्बर लिनुपर्ने प्रावधान लागू गरेपछि धरानस्थित आन्तरिक राजस्व कार्यालयबाट अघिल्ला वर्षको तुलनामा पान नम्बर लिनेको सङ्ख्या दोब्बरले बढेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ को २ महिनामा २४ हजार ८ सय १७ जनाले पान नम्बर लिएका छन् । प्रदेशका ५ ओटा जिल्लाबाट लिएको पान नम्बर सङ्ख्या अघिल्लो वर्षको तुलनामा करीब ६३ प्रतिशतले वृद्धि भएको छ । कार्यालयका अनुसार २०५८ सालदेखि पान नम्बर लिन शुरु भएयता भदौ २९ गते सम्ममा ६४ हजार १ सय ६ जनाले पान नम्बर लिएका छन् । चालु आर्थिक वर्षको साउनमा १२ हजार २ सय ४८ र भदौ महिनामा १२ हजार ५ सय ६९ जनाले पान नम्बर लिएको कार्यालयका प्रमुख देवनारायण पौडेलले बताए ।

धरानस्थित राजस्व कार्यालयले सुनसरीसहित धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभाबाट राजस्व सङ्कलन गर्ने गर्दछ । धरान मूल शाखा रहने गरी ५ जिल्लाका लागि ४ शहरमा राजस्व कार्यालयका सङ्कलन शाखा राखिएको छ । चालु आर्थिक वर्षमा सङ्कलन शाखाहरूबाट व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या इटहरीमा १२ हजार ६ सय ५० रहेको छ । त्यस्तै, धरानमा ४ हजार ६ सय ८४, धनकुटामा ४ हजार ३ सय ४० र सङ्खुवासभामा ३ हजार १ सय ४३ जनाले व्यक्तिगत पान नम्बर लिएको पौडेलले बताए । उनका अनुसार इटहरीमा धेरै उद्योग, कलकारखाना भएकाले अन्य क्षेत्रको तुलनामा इटहरीको सङ्ख्या उच्च रहेको छ ।

चालु आर्थिक वर्षकै अवस्था हेर्ने हो भने मासिक १२ हजारकै दरले पान नम्बर लिनेको सङ्ख्यामा वृद्धि भइरहेको पौडेलको भनाइ छ । उनले भने, ‘यसैगरी बढ्दै जाने हो भने असोज महिनामै अघिल्लो वर्षसम्मको लक्ष्य भेटाउँछौँ ।’

कुनै पनि कार्यालय वा स्थानमा सेवा गरी तलब, भत्ता, ज्याला वा पारिश्रमिक लिने व्यक्तिले अनिवार्य रूपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेसँगै राजस्व कार्यालयमा सेवाग्राहीको भीड बढेको छ । धरानमा मात्रै दैनिक ७ सय सम्मले पान नम्बर लिने गरेको उनको भनाइ छ । थोरै कर्मचारी भएकाले व्यवस्थापन गर्न थोरै कठिनाई भए पनि नागरिकको उपस्थिति उत्साहप्रद रहेको उनले बताए ।