उर्लाबारीः मोरङको उर्लाबारी–२ सालबारीमा पेपर ब्याग उद्योग सञ्चालनमा ल्याइएको छ ।

स्थानीय सुरेश धिमालले बुढाठाकुर महाराज पेपर ब्याग उद्योग सञ्चालनमा ल्याएका हुन् । करीब ३५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको पेपर उद्योग प्रदेश नं. १ कै पहिलो भएको सञ्चालक धिमालले दाबी गरे ।

प्लाष्टिक झोलाको बढ्दो प्रयोग घटाउने उद्देश्यअनुसार पेपर ब्याग उद्योग सञ्चालनमा ल्याएको उनले जानकारी दिए । ५ मिनेटमा ५० केजीसम्म पेपर ब्याग उत्पादन गर्न सकिने र प्रदेश नं. १ भर नै उत्पादित ब्याग पु¥याउने लक्ष्य रहेको उनले बताए ।

पूर्वका विभिन्न शहरमा प्लाष्टिक झोलामुक्त गरिए पनि कार्यान्वयन हुन नसकेको अवस्थामा कागजको ब्याग फलदायी हुने वडा नं. २ का अध्यक्ष राजन कँडेलले जानकारी दिए । उनले यस्ता उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।