काँकरभिट्टाः १ नम्बर प्रदेशको सर्वाधिक राजस्व सङ्कलन गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको २०७६÷०७७ को २ महिनामा लक्ष्यको तुलनामा राजस्व सङ्कलन गर्न असफल भएको छ ।
१३ अर्ब २४ करोड १९ लाख ९ हजार रुपैयाँ वार्षिक लक्ष्य पाएको मेची भन्सारले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ६२ करोड ६३ लाख ७ हजार रुपैयाँ सङ्कलन गर्नुपर्ने लक्ष्य थियो । तर, पूर्वी नाकाबाट हुने व्यपारमा कमी आएकै कारण ७१ करोड २७ लाख १६ हजार रुपैयाँ अर्थात् ६७ दशमलव शून्य ७ प्रतिशतमात्र राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए ।
यसैगरी, भन्सार विभागले भदौ महिनामा कार्यालयलाई १ अर्ब ३२ करोड ७९ लाख ४६ हजार मासिक लक्ष्य तोकेको भए पनि ९० करोड ४४ लाख १ हजार अर्थात् लक्ष्यको ६८ दशमलव ११ प्रतिशत राजस्व मात्र सङ्कलन भएको छ ।
मेची भन्सार कार्यालय मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयलाई प्रमुख भन्सारमा स्तोरन्नति गर्नु, व्यापारको आकार घट्नु, तथा व्यवसायी पलायन भएका कारण पनि राजस्व असुलीमा समस्या थपिएको भन्सार अधिकारीको भनाइ छ । भारतबाट आउने कोइला तथा क्लिङ्कर र बङ्गलादेशबाट आउने पेयपदार्थको आयात ओरालो लाग्नुले पनि कार्यालयको राजस्व असुलीमा कमी आएको भन्सार अधिकारीहरू बताउँछन् ।