बिर्तामोडः झापाको शिखर बचत तथा ऋण सहकारी संस्थाले नेपालमै पहिलो पटक सो सहकारीले ‘कार्डलेस एटिएम’ शुरु गर्न लागेको जनाएको छ । यसै आर्थिक वर्षमा सो सेवा शुरु हुने संस्थाले जनाएको छ ।

त्यस्तै, ‘सरल र सुरक्षित बैंकिङ कारोबार अब तपाईँको हातमा’ भन्ने नारासहित सहकारीले मोबाइल एप्सको प्रयोग गरेर ब्यालेन्सबारे जानकारी, मिनी स्टेटमेन्ट जानकारी, चेक अनुरोध र चेक रद्द, एसएमएस बैंकिङ, टेलिफोन तथा बिजुलीको बिल भुक्तानी, फण्ड ट्रान्सफरलगायतको काम शुरु गरेको जनाएको छ ।

त्यसैगरी,सहकारीले यस वर्षको दशैँमा विपन्न वर्गका ५० परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गर्ने भएको छ ।

‘चाडपर्वमा कसैले फैलाउनु नपरोस् हात, यसपालीको दशैंमा शिखर सहकारीले दिन्छ तपाईँहरूलाई साथ’ भन्ने नारासहित खाद्यान्न तथा लत्ताकपडा वितरण गर्न लागेको सहकारीले जनाएको छ ।

सहकारीले ९ औँ वर्ष प्रवेशको पूर्व सन्ध्यामा साताव्यापी सञ्चालन गर्ने सामाजिक गतिविधिअन्तर्गत यस वर्षको चाडपर्वमा विपन्न वर्गमाझ पुग्ने लक्ष्य लिएको जनाएको छ । सहकारीले असोज ११ गते बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गर्नेभएको छ । १५ गते खाद्यान्न र लत्ताकपडा वितरण, दुर्घटना न्यूनीकरणका लागि अभियानलगायतका कार्यक्रम अघि सारेको सहकारीका सञ्चालक दीपेन्द्र राउतले बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्यलगायत समुदायको हितमा अन्य कार्यक्रमसमेत आयोजना गरिने जानकारी दिए ।

गत आर्थिक वर्षमा शेयर पूँजी ४ करोड ७० लाख पुगेको छ भने बचत रकम ४८ करोड ४३ लाख तथा ५० करोड ८४ लाख रुपैयाँ ऋण लगानी रहेको जनाएको छ ।

सहकारीले गत वर्ष १ करोड बढी नाफा गरेको अध्यक्ष राउतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीमा ७ हजार ८ सय जना सदस्य भइसकेको बताइएको छ ।