इटहरीः लाभांशको समय आइरहँदा पनि शेयर बजारमा भने क्रेताभन्दा बिक्रेता बढी देखिँदा शेयर कारोबार कम हुन थालेकाले कारोबार रकम पनि घट्दै जान थालेको छ ।
बुधबार यस वर्षकै कम रकमको शेयर कारोबार भएको छ । बुधबार कुनै पनि कम्पनीको कारोबार ९० लाख रुपैयाँ पुगेन । १ सय ६६ ओटा कम्पनीको कारोबार भएको बजारमा जम्मा १६ करोड ६९ लाख २१ हजार ७ सय ९९ रुपैयाँको शेयर कारोबार भयो । यसअघि सबैभन्दा कम रकम १७ करोड ७२ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार सोमबार भएको थियो ।
कारोबार भएका १२ समूहमध्ये २ समूहको सूचकमा मात्रै हरियाली छाएको बुधबारको शेयर कारोबारमा नेप्से ० दशमलव २७ प्रतिशत अर्थात् ३ दशमलव ०३ अङ्कले घटेर १ हजार १ सय ३१ दशमलव ५३ बिन्दुमा अडिएको छ । बुधबार सामुहिक लगानी कोषमा सबैभन्दा बढी १ दशमलव ०५ प्रतिशतले गिरावट आएको छ ।
लाभांशको लागि बुक क्लोजको मिति मङ्गलबार सार्वजनिक गरेको सानिमा बैंकको सबैभन्दा धेरै ८६ लाख ५६ हजार २ सय ९२ रुपैयाँको शेयर कारोबार बुधबार भएको छ । नेपाल बैंकको ८३ लाख २४ हजार ५ सय ११ रुपैयाँको र प्रभु बैंकको ६८ लाख १८ हजार १ सय ९१ रुपैयाँको शेयर कारोबार भएको छ । लाभांशको लागि बुधबार नै बुक क्लोज मिति सार्वजनिक गरेको बैंक अफ काठमाडौं भने कारोबार रकमको आधारमा शीर्ष सातौं स्थानमा रह्यो ।
खानीखोलाका लगानीकर्ताले बढी कमाए
बुधबार खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ४३ प्रतिशतले सम्पत्ति कमाएका छन् । यद्यपि साढे ९ प्रतिशतले शेयर मूल्य बढ्दा पनि सो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५८ रुपैयाँ मात्रै पुगेको छ । जम्मा १२ कारोबारबाट सो कम्पनीको ५ सय २५ कित्ता शेयर मात्रै किनबेच भएको छ । मङ्गलबार पनि खानीखोलाको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव १६ प्रतिशतले बढेको थियो ।
कर्णाली डेभलपमेन्टका बैंकले ३ दशमलव ०३ प्रतिशतले कमाउँदा सो कम्पनीको शेयर मूल्य १ सय २ रुपैयाँ पुगेको छ । माउण्टेन हाइड्रोको शेयरमूल्य २ दशमलव ५६ प्रतिशतले बढेर ८० रुपैयाँ पुगेको छ । जम्मा ६ ओटा कारोबारबाट सो कम्पनीको २ सय ६० कित्ता शेयर मात्रै किनबेच भएको छ ।
बढी मूल्य घट्नेमा तिनाउ मिसन डेभलपमेन्ट बैंक
तिनाउ, मिसन र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक मर्जको प्रक्रियामा रहेका र मर्जर प्रक्रिया सम्पन्न भएपछि मङ्गलबारदेखि एकीकृत कारोबार खुलेको तिनाउ मिसान डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । सो कम्पनीको शेयर मूल्य ६ दशमलव ९६ प्रतिशतले घटेको छ ।
प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य ५ दशमलव ७७ प्रतिशतले घटेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकले अस्वीकृत गरेपछि गुराँस लाइफ लघुवित्तको बुधबारको कारोबारमा नकारात्मक असर पर्दा ४ दशमलव ०४ प्रतिशतले शेयर मूल्य घटेको छ ।