बेलबारीः मोरङका सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । मङ्सिर १ गतेदेखि सेवा पाउने गरी दर्ता सहयोगीले घरघरमा गएर लाभग्राहीको नाम दर्ता गराउन थालेका छन् ।

१७ स्थानीय तह रहेको मोरङमा १ सय ५९ वडा रहेका छन् । प्रत्येक वडामा १ जना दर्ता सहयोगी छनोट गरेर बीमा गराउन थालिएको हो ।

‘दर्ता सहयोगी पुगेर परिवारको सदस्य सङ्ख्या, ज्येष्ठ सदस्यको तथ्याङ्कसहित फिल्डमा काम गरिरहनुभएको छ’, स्वास्थ्य बीमा बोर्ड १ नम्बर प्रदेश कार्यालयका सह संयोजक दुर्गा आचार्यले भने, ‘सेवा पाउने भएपछि स्थानीय हर्षित भएका छन् ।’

पहिलो पटक घर घरमा बीमा सहयोगी पुग्न थालेपछि स्थानीय हर्षित भएका हुन् । ‘खर्च तथा चेतना अभाव भएका कारण धेरै जनाको अस्पतालमै नपुगी मृत्यु हुने गरेको सुन्ने गरेका थियौँ’, सुन्दरहरैँचाकी कमला आचार्यले भनिन्, ‘यसलाई बुझाउन सक्नुप¥यो ।’

स्थानीय तहले बीमा कार्यक्रमको शुभारम्भ नै गरेर बीमा कार्यत्रमलाई अगाडि बढाएका छन् । ३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्दै बेलबारी नगरपालिकाले सेवा शुभारम्भ गरेको छ ।

यस कार्यक्रमले गरीब, असहाय तथा पिछडिएको समुदायलाई विशेष महत्व दिने भएकले प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास लिएको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले वडावडामा आफू पनि स्वास्थ्य बीमा गराउनुहोस् भन्दै हिँडेको उनले बताए ।

‘बीमा कार्यक्रमका विषयमा गाउँगाउँमा गएर बुझाउन सकियो भने सवैलाई राहत मिल्छ’, कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेले भने ३ हजार ५ सय रुपैयाँ तिर्दा तपाईंका परिवारका ५ जनाले १ लाखको औषधी उपचार पाउँछन् भनेर सम्झाउन हामी पनि लागिपरेका छौँ ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन चाहने ५ जना सदस्य भएको परिवारले बीमा शुल्कबापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ भने ५ भन्दा बढी १० जनासम्मले प्रतिव्यक्ति ७ सय बुझाउनुपर्ने उल्लेख गरिएको छ । एकै परिवारका १० जना भन्दा बढी सदस्य भए अन्य थप शुल्क लाग्ने छैन । ज्येष्ठ नागरिकको हकमा भने शुल्क लाग्ने छैन ।

‘पहिलो चरणमा प्राथमिक स्वास्थ्य केन्द्र तथा सरकारी अस्पतालबाट सेवा लिन मिल्छ’, बेलबारी नगरपालिका स्वास्थ्य शाखाका संयोजक सन्तोष विश्वकर्माले भने, ‘त्यहाँ उपचार हुन नसकेपछि स्वास्थ्य बीमाका लागि सरकारले तोकेको अस्पतालमा पठाइन्छ ।’

विश्वकर्माका अनुसार मोरङका बीमितहरूले कोशी अञ्चल अस्पताल, नोबेल मेडिकल कलेज, विराट अस्पताल, हाम्रो अस्पताल, विराटनगर आँखा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन मिल्छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसन लगायतका उपचार निःशुल्क प्राप्त गर्न सक्नेछन् ।