धरानः स्वदेश तथा विदेशमा समेत व्यवसाय विस्तार गर्न सफल रहेको धरानस्थित वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले २५ औं वार्षिकोत्सवको अवसरमा सर्वाधिक खरीदकर्ता ग्राहकसहित पत्रकार र सामाजिक अभियन्ताहरूलाई सम्मान गरेको छ ।

प्रालिको वार्षिकोत्सवको अवसरमा आयोजित रजत महोत्सवको अवसरमा १० हजार रुपैयाँ देखि ८० लाख रुपैयाँसम्मको सामान वराह डिपार्टमेन्ट स्टोरमा सामान खरीद गर्ने १० हजार भन्दा बढी ग्राहकलाई पुरस्कार प्रदान गरिएको हो । वराहमा २०७५ साल भदौदेखि ७६ साल साउन अन्तिम सम्ममा १७ हजार भन्दा बढी ग्राहकहरूले सामान खरीद गरेका थिए । उनीहरूलाई खरीद रकमको आधारमा पुरस्कार प्रदान गरिएको छ । अघिल्लो वर्ष १३ हजार ग्राहक स्ख्या रहेको वराहमा यस वर्ष १७ हजार भन्दा बढी ग्राहक सङ्ख्या पुगिसकेका छन् ।

वराहको रजत महोत्सव वाणिज्य तथा उद्योग मन्त्री मातृका यादवले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उद्योगमन्त्री यादवले आर्थिक समृद्धिका लागि वराहको योगदानको प्रशंसा गरे । सामान्य सुनचाँदी पसलबाट शुरु भएको वराहले अन्तर्राष्ट्रिय स्तरमा गरेको व्यापार बिस्तार समग्र देशकै आर्थिक उन्नतिको उदाहरण बनेको बताए ।

२४ वर्ष अघि सामान्य ज्वेलरी स्थापना गरेर व्यवसाय सञ्चालन गरेको वराहले देशभर ८ स्थान र विदेशमा ३ देशमा आफ्नो शाखा विस्तार गरेको छ । कार्यक्रमको अवसरमा प्रालिका उत्कृष्ट कर्मचारीहरूलाई गोल्ड मेडलले सम्मान गरिएको थियो ।
त्यसैगरी, ज्वेलरीमा सर्वाधिक खरीदकर्ता ८ जनालाई गोल्ड मेडलले सम्मान गरिएको थियो । वराहका संस्थापक अध्यक्ष

स्वर्गीय इन्द्रकुमार लामिछानेको स्मृतिमा स्थापना गरिएको इन्द्रवराह स्मृति पत्रकारिता पुरस्कारबाट ८ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

पत्रकारहरू गंगा बराल, रत्न आचार्य र गमबहादुर लम्जेललाई इन्द्रवराह स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने रजत महोत्सवको अवसरमा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट भैरव आङ्ला, सन्तोष काफ्ले; गोपाल दाहाल, गोपाल कामत र विनय प्रधान पुरस्कृत भएका छन् ।

वराहका संस्थापक अध्यक्ष स्वर्गीय लामिछानेको व्यवसायिक यात्रा तथा उनको जीवनीमा आधारित पुस्तक कार्यक्रमको अवसरमा विमोचन गरिएको थियो । उनको जीवनीमा आधारित पुस्तक निसपको प्रमुख अतिथिसहित विशिष्ट अतिथिहरूले विमोचन गरे । पुस्तकको बिक्रीबाट आएको रकमले सामाजिक कार्य गर्ने घोषणा समेत वराहले गरेको छ ।

वराहले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय भन्दा बढी पिन्ट रगत सङ्कलन भएको छ । धरानलाई रक्तदाताहरूको शहरको रूपमा परिचित गराउँदै आएको वराहले प्रत्येक वर्ष रक्तदान कार्यक्रम पनि गर्दै आएको छ ।

वराहका अध्यक्ष शिवकुमार लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल, प्रदेश सांसद उमिता बराइली, सावित्री जोशी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।