धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित सिम्सुवामा रहेको लेउती खोलामा निर्माणाधीन पक्की पुल निर्माणमा ढिलाइ भएको छ ।

पुल निर्माण सम्पन्न भइसक्ने अवधिमा ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । २०७४ असार २५ गतेदेखि निर्माण शुरु भएको उक्त पुलको काम दुई वर्षभित्र सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको सडक डिभिजन धनकुटाका इन्जिनियर विकेश लागेले जनाए । भ्याटसहित करीब ७ करोड रुपैयाँ कुल लागत रहेको सो पक्की पुल निर्माणको ठेक्का कुन्सालिङ, बिरुवा र सारासृष्टि निर्माण कम्पनी जेभीले पाएका थिए ।

सम्झौताअनुसार आयोजनाको म्याद २०७६ असारमै सकिएको छ । ठेकेदार कम्पनीले शुरुमा फाइनल गरेको पुलको डिजाइन त्रुटि भई संशोधन गर्ने क्रममा ७÷८ महिना काम रोकिएका कारण निर्माणमा ढिलाइ भएको ठेकेदार मिङमा शेर्पाले बताए । साँगुरीगढी गाउँपालिकाको बुढीमोरङ, फाक्सिब, खुवाफोकसहित चौबिसे गाउँपालिकाका जनतालाई कोशी राजमार्गमा सीधा जोड्न उद्देश्यसहित मध्य चौबिसे सडक खण्डमा सो पुल निर्माण गरिएको हो ।

पुल निर्माण समयमै सम्पन्न नहुँदा ती क्षेत्रका स्थानीय करीब आधा घण्टा पैदल दूरीमा रहेको झोलुङ्गे पुलबाट ओहोरदोहर गर्न बाध्य छन् ।