धनकुटाः निर्माण गरिएको भवन जिम्मा लगाउने निकाय नभेट्दा धनकुटामा एक सरकारी भवन अलपत्र बनेको छ ।

महिला विकास कार्यालयको लागि २ करोड ६४ लाख रुपैयाँमा निर्माण गरिएको सो भवन निर्माण सम्पन्न भएको १० महिना बितिसक्दा समेत हस्तान्तरण हुन सकेको छैन ।

जिल्लास्थित महिला तथा बालबालिका विकास कार्यालयको लागि यो भवन २०७३ सालमा निर्माण शुरु गरिएको थियो । सम्झौताअनुसार गत मंसिरमा सो भवन निर्माण भए पनि सो कार्यालयको जिल्ला संरचना खारेज भइसकेको थियो । जिल्ला संरचना खारेज भएपछि भवन हस्तान्तरण हुन नसकेको हो ।

‘निर्माण त गरियो तर जिम्मा लाउने निकाय नै छैन’, ठेकेदार सन्तोष राईले भने, ‘जिल्ला कार्यालय रहने नरहने टुङ्गो नभई निर्माण गरिएकाले समस्या भएको हो ।’ निर्माण भएको सो भवनको रकम समेत भुक्तानी हुन सकेको छैन । सो भवनको १ करोड १० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको ठेकेदार सन्तोष राईले बताए ।

भुक्तानी नभएको रकमको ब्याज तिर्दातिर्दा आफू हैरान भएको राईको भनाइ छ । ‘पैसा ऋणमा खोजेर भवन त निर्माण गरियो,’ उनले भने, ‘तर पैसा निकासा नहँुदा प्रतिमहिना २ लाख रुपैयाँसम्म ब्याज तिर्नुपर्छ ।’

जिल्ला कार्यालय खारेज भएपछि भुक्तानीको लागि महिला तथा बालबालिका मन्त्रालय र विभागमा पटकपटक धाए पनि भुक्तानी हुन नसकेको ठेकेदार कम्पनीले जनाएको छ ।

रकम निकासा नभएकै कारण भवन अलपत्र बनेको जिल्ला समन्वय समितिका सभापति टङ्क चौहानले बताए । ‘ठेकेदारको पैसा आएको छैन । त्यसैले भवन अलपत्र बनेको हो’, चौहानले भने, ‘रकम चुक्ता हुनेबित्तिकै भवन अन्य कार्यालयलाई हस्तान्तरण गर्ने छौँ ।’