इटहरीः दशैंअघिको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली छाएको छ । लगातार २ दिन दोहोरो अङ्कले बढेको बजारमा बुधबार भने सामान्य करेक्सन भएको थियो ।

बिहीबार पुनः बजारमा हरियाली छाएको छ । बिहीबार बजार ० दशमलव ७६ प्रतिशत अर्थात् ८ दशमलव ६९ अङ्कले बढ्दा वित्तबाहेक बाँकी सबै समूहको सूचकमा हरियाली छाएको हो । बजार बढसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ६० अर्ब कायम भएको छ ।

महङ्गो शेयरको धेरै मूल्यवृद्धि
नेपाली पूँजी बजार धितोपत्र बोर्डमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो शेयरमूल्य भएको कम्पनीको बिहीबार सबैभन्दा धेरै मूल्य बढेको छ । युनिलिभर नेपाल लिमिटेडको सबैभन्दा धेरै १० प्रतिशत मूल्य बढे पनि जम्मा ६० कित्तामात्रै कारोबार भएको छ । सो कम्पनीको बिहीबार मात्रै प्रतिकित्ता १ हजार ८ सय ३५ रुपैयाँ मूल्य बढेर २० हजार १ सय ८५ रुपैयाँ कायम भएको छ ।

यद्यपि युनिलिभरको शेयर कारोबार म्याचिङ भएको देखिन्छ । ४ पटक १० कित्ताका दरले र १ पटक २० कित्ताका दरले बिक्री भएको सो कम्पनीको सबै ६० कित्ता शेयर ब्रोकर नम्बर ३२ बाट बिक्री भएको छ । सो शेयर ब्रोकर नम्बर ३ र १६ बाट १÷१ पटक खरीद हुँदा ब्रोकर नम्बर ३२ ले नै ३ पटक किनेको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ३ दशमलव ९६ प्रतिशतले मूल्य बढेको छ ।

गुमाउनेमा युनाइटेड फाइनान्सलगायत
अघिल्ला २ दिन उच्च मूल्य बढेको युनाइटेड फाइनान्सको शेयरमूल्य भने बिहीबार सबैभन्दा धेरै घटेको छ । सो कम्पनीको ९ दशमलव ३१ प्रतिशतले मूल्य घट्दा अरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४ दशमलव ०८ प्रतिशतले घटेको छ । नेशनल हाइड्रो डेभलपरको मूल्य पनि ४ प्रतिशतले घटेको छ ।

सबैभन्दा थोरै कम्पनीको शेयर कारोबार
बिहीबार सबैभन्दा थोरै १ सय ५३ ओटा कम्पनीको मात्रै शेयर कारोबार भएको छ । यसअघि असोज १२ गते सबैभन्दा कम १ सय ५६ ओटा कम्पनीको शेयर किनबेच भएको थियो ।

त्यस्तै, २ हजार ६ सय ९५ पटक शेयर किनबेच भएर बिहीबारको बजारमा यस वर्षकै सबैभन्दा थोरै पटक शेयर किनबेच भएको रेकर्ड कायम भएको छ । चालु आर्थिक वर्षमा यसअघि बुधबार सबैभन्दा कम २ हजार ८ सय २ पटक शेयर किनबेच भएको थियो ।

सोल्टी होटलको उच्च कारोबार
बिहीबार सोल्टी होटलको सबैभन्दा धेरै मूल्यको शेयर किनबेच भएको छ । १ सय ५३ कम्पनीमध्ये सो कम्पनीको ३ करोड १३ लाख ९९ हजार २ सय रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, लाभांश पाउनको लागि बुक क्लोज मिति बिहीबार सार्वजनिक गरेको सिद्धार्थ बैंकको १ करोड ५५ लाख ५९ हजार ७ सय २९ रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा तेस्रो स्थानमा रहेको शिवम् सिमेण्टको ९२ लाख १३ हजार ६ सय ४५ रुपैयाँको शेयर किनबेच भएको छ । अरु कुनै पनि कम्पनीको शेयर कारोबार ८० लाख रुपैयाँभन्दा बढीको भएन ।