विराटनगरः दशैंको सन्दर्भ पारेर विराटनगरमा आयोजित कोसेली महोत्सव सम्पन्न भएको छ । स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । यसको करिब ६ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।

‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौँ’ भन्ने नाराका साथ उद्योग सङ्गठन मोरङ, महिला उद्यम समिति तथा नेपाल युवा उद्यमी मञ्चले कोसेली महोत्सवको आयोजना गरेको थियो । यसको समापन प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतको प्रमुख आतिथ्यमा भएको थियो ।

महोत्सवमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश १, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घले सहयोग गरेका थिए । उद्योग सङ्गठन मोरङको पहलमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा १ सय ओटा स्टल रहेका थिए । ६ दिनसम्म सञ्चालित महोत्सवमा पूर्वको पहाडी जिल्लाको अल्लोबाट बनाएका कपडा, राडी, पाखी, मह, लगायतका खाद्यपदार्थ तथा मोरङ र झापामा उत्पादित मह, कागतीका उत्पादन, नेपाली खानाका परिकार सेल रोटी, कोदोको मम लगायतका स्टल रहेका थिए । महोत्सवमा करिब १५ लाख रुपैयाँको कारोबार भएको कोसेली महोत्सवका संयोजक गिरिजा सारडाले जानकारी दिइन् ।