इटहरीः प्रभु बैंकले दशैंमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै उपत्यका र उपत्यकाबाहिर रहेका शाखा असोज २० गते (नवमी) का दिनसम्म सञ्चालन गर्ने भएको छ । बैंकले टीकाका दिन असोज २१ गते भने देशभरका शाखा बन्द गर्ने निर्णय गरेको छ ।

बैंकले नवमीसम्म सञ्चालनमा रहने शाखाको नामावली सूचनामार्फत् जानकारी गरेको छ । जसअनुसार उपत्यकाभित्रका बबरमहलस्थित मुख्य शाखा कार्यालयसहित ८ ओटा शाखा १८, १९ र २० गते पनि खुला रहने जनाएको छ ।

यसैगरी पूर्वमा बैंकका इटहरी, दमक, धरान, विराटनगरका शाखा असोज १८, १९ र २० गतेसम्म खुला रहने भएका छन् । यीमध्ये इटहरी र दमक शाखा कार्यालय भने टीकाको भोलिपल्ट असोज २२ गते पनि खुला हुने भएका छन् । यी कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

दशैंका बेला यी शाखा कार्यालयहरूबाट निक्षेप जम्मा, चेक भुक्तानी अधिकतम १ लाख रुपैयाँं, रेमिट्यान्स रकम बढीमा ५० हजार रुपैयाँ र सोभन्दा बढी भएमा खाता खोली जम्मा गर्न पाउने व्यवस्था बैंकले गरेको जनाएको छ ।