इटहरीः असोज २२ गते राती ९ बजे इटहरीबाट प्रहरीले तास खेलिरहेका ६ जनालाई पक्राउ गर्नुका साथै उनीहको साथमा रहेको ३ लाख ६५ हजार ६ सय ६० रुपैयाँ नगद बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी– ६ बसपार्कमा रहेको सिटी गेस्ट हाउसको तेस्रो तलाको कोठाबाट उनीहरू पक्राउ परेका हुन् । सो तलाको पूर्वतर्फको कोठमा रहेको लो बेडमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले छापा मारेको थियो ।

कार्यालयका सूचना अधिकारी रमेशकुमार बस्नेतका अनुसार कार्यालयबाट प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको ११ जनाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । बस्नेतका अनुसार इटहरी– ९ का ४२ वर्षीय राम गिरी, ३४ वर्षीय सरोज राउत र इटहरी– ६ का ३५ वर्षीय सरोज बोहोरा पक्राउ परेका छन् ।

त्यस्तै, इटहरी–८ का ३१ वर्षीय केशव बस्नेत, रामधुनी– २ का ३३ वर्षीय महेश राजवंशी र घरधनी ४० वर्षीय योगेन्द्र गिरी पक्राउ परेका छन् । बस्नेतका अनुसार उनीहरूको साथबाट नखोलेको ६ बुक तास ६ र खोलेको १ सय ६३ पत्ती तास बरामद भएको छ ।