बेलबारीः २ लाख रुपैयाँ भारु नोटसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

५ सय दरका ४ सय ओटा नोटसहित भारतको बनारसका २५ वर्षीय आशुतोष सोनी पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूका अनुसार भारतबाट प्रतिबन्धित भारतीय नोट बोकेर नेपाल छिरेका सोनीलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका सोनी प्रतिबन्धित भारतीय नोट लिएर विराटनगरबाट काठमाडौं जाने क्रममा थिए । उनी एक साताका लागि नेपाल आएको खुलेको छ ।

उनी भारतको बनारसमा रहेको जेजे प्लाष्टिक उद्योगका सेल्स मेनेजर हुन् । उनीमाथि शङ्का लागेर जाँच गर्ने क्रममा उनले बोकेको झोलामा दुई लाख रुपैयाँ भारतीय रकम फेला परेको प्रहरीले जनाएको छ । उनले बाटो खर्चबापत रकम बोकेको र भारतीय नोट नेपालमा प्रतिबन्धित हो भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरीलाई बताएका छन् । बरामद भएको रकमसहित पक्राउ परेका सोनीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।