जाँतेः लकडाउनको अवस्थामा खाद्यान्न अभावका कारण भोकै बस्नु नपरोस् भनेर लेटाङ नगरपालिका वडा नम्बर ९ ले विपन्न परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाबाट सोमबार मात्रै राहत सामाग्री पाएको वडा नम्बर ९ ले मंगलबार विहानैदेखि राहत वितरण गर्न थालेको हो । मंगलबार विहान वडाको पश्चिमी क्षेत्रमा रहेका मिलिजुली र सगरमाथा टोलमा रहेका विपन्न परिवारलाई संयुक्तरुपमा स्थानीय शिक्षा ज्योती आधारभुत विद्यालयमा भेला गराइ राहत वितरण कार्य सुरु गरिएको हो । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले राहत वितरण कार्य सुरु गरेकी थिइन् । त्यसपछि वडाध्यक्ष कृष्ण लुइँटेल, वडासदस्य इन्द्र ढकाल लगायतका जनप्रतिनिधिहरुको टोलीले टोल–टोलमा पुगेर टोल समितिलाई राहत हस्तान्तरण गरेर टोल समितिमार्फत नै वितरण गरिएको हो । वडाका मिलिजुली, सगरमाथा, वाह्रगोठे, मदनपुर, विहानी, समृद्धि, मदन चौक र स्वर्गद्वारी टोल विकासलाई राहत हस्तान्तरण गरि टोलमार्फत नै वितरण गरिएको वडाध्यक्ष कृष्ण लुइँटेलले जानकारी दिए । जनप्रतिनिधि आफैंले राहत बाँढ्दा ढिलो हुने भएकाले वडाका टोल समितिमार्फत राहत वितरण गरिएको उनले बताए ।

वडाले नगरको मापदण्ड बमोजिमकै आधारमा सोमबार साँझ सम्ममा प्याकेजिङको काम पूरा गरी राहत वितरण गरेको वडा सदस्य खेमराज ढकालले जानकारी दिए । नगरपालिकाले १ देखि ४ जना सम्म, ५ देखि ७ जनासम्म र ८ जनादेखि माथि परिवार संख्या रहेको परिवारलाई फरक–फरक परिमाणमा राहत बाँड्ने मापदण्ड बनाएको छ । १ देखि ४ जनासम्मको परिवारलाई १२ केजी चामल, एउटा साबन, दाल १ केजी, २ सय ५० ग्राम सोयाविन, नुन १ केजी र आधा लिटर तेल, ५ देखि ७ जनासम्मको परिवारलाई चामल १५ केजी, सावन २ वटा, दाल डेढ केजी, सोयावनि ४ सय ग्राम, नुन १ केजी, तेला १ लिटर र ८ जनादेखि माथि सदस्य संख्या भएको परिवारलाई चामल १८ केजी, सावुन ३ वटा, दाल २ केजी, सोयावनि ५ सय ग्राम, नुन १ केजी र तेल डेढ लिटर वितरण गर्ने भनि तय गरिएको छ ।

वडा नम्बर ९ मा रहेका ८ वटा टोलमा दैनिक ज्याला मजदुरी गरिखाने विपन्न परिवारको संख्या १ सय ९१ रहेको तथ्यांक संकलन गरि ति सबै परिवारलाई राहत वितरण गरिएको हो । वडासदस्य ढकालले राहत वितरण गर्दा कोरोनाको संक्रमण नहोस् भनेर सामाजिक दुरी कायम गरि नियमपूर्वक गरिएको पनि बताए । यसैबीच लेटाङ नगरपालिकाका वडा नम्बर ७ र ८ बाहेक अन्य सबै वडाले मंगलबारदेखि नै राहत वितरण सुरु गरेका हुन् । वडा नम्बर ७ ले बुधबार मात्र बाँड्ने कार्यक्रम छ भने वडा नम्बर ८ ले सोमबार नै राहत वितरण गरेको छ । लेटाङ नगरपालिकाले संकलन गरेको तथ्यांक अनुसार नगरमा दैनिक ज्यालामजदुरी गरेर छाक टार्ने विपन्न परिवारको संख्या २ हजार एक सय ३५ रहेको छ ।

वितरणमा ढिलाइ हुँदा राहत माग्नेहरुको संख्या थपियो

यता नगरपालिकाले निकै ढिलोगरि वडालाई राहत पठाएका कारण वितरणमा ढिलाइ हुँदा राहत माग्नेहरुको संख्या थपिएको छ । वडाले विपन्न परिवारको तथ्यांक संकलन गरेर पठाएको १० दिनपछि मात्र राहत आएकाले राहत माग्नेहरुको संख्या बढेको हो ।

तथ्यांक संकलन गरिएको समयमा आफुहरुलाई खाद्यान्न समस्या नभएकाले नाम नटिपाए पनि यतिबेला भने समस्या भएको कतिपयको गुनासो छ । वडाध्यक्ष कृष्ण लुइँटेलले राहत वितरण कार्य ढिलो हुँदा अन्य परिवारले समेत राहत पाउनु पर्ने माग गरेको बताए । “विपन्न परिवारको तथ्यांक संकलन गरेको निकै दिन पछि मात्र राहत आयो, यतिबेलासम्म अन्य केही परिवारमा समेत अन्नपात सकिएपछि राउत पाउनुपर्ने माग गरेका छन् ।” वडाध्यक्ष लुइँटेलले भने, “अब नगरपालिकाले थप परिवारलाई समेत राहत वितरण गर्न आवश्यक देखिएको छ ।” नगरले तत्काल राहत पठाउँछ होला भनेर निकै समस्या भएका परिवारको मात्र नाम संकलन गरि पठाएकाले समेत यतिबेला आएर अन्य परिवारको पनि अन्नपात सकिंदा राहत माग्नेहरुको संख्या बढेको उनले बताए । नगरले तत्काल राहत पठाएको भए यस्तो समस्या नआउने उनको भनाइ छ । वडाले तथ्यांक पठाएको निकै पछि मात्र राहत पठाएकाले केही अति विपन्न परिवारलाई वडाले यसअघि नै राहत वितरण गरेको समेत उनले जानकारी दिए ।