इटहरीः बार्षिक रुपमा लाखैं करोडौ रुपियाँ आम्दानी गर्ने कतिपय उद्योगी व्यपारीहरु लकडाउनका बेला कालोबजारी गर्न समेत पछि नहटेका समाचार बाहिर आइरहेका बेला इटहरीमा भने दुई स्कुलले विद्यार्थीहरुले आफ्ना अभिभावक र आफन्तले दिएको पैसा जोगाएर इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा जम्ममा गरेका छन् ।
इटहरी ६ निवासी दिदीभाईले आफ्ना अभिभावक र आफन्तले दिएको पैसा खुत्रुकेमा हालेका थिए । त्यही खुत्रुके फुटाएर संकटका बेला इटहरी सरकारलाई आर्थिक सहयोग गरेका हुन् । दिदी श्रेया र भाई श्रब्य चापाँगाईले खुत्रुकेमा जम्मा गरेको दशहजार रकम इटहरी उपमहानगरको कोषमा प्रदान गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
विपद्का वेला बालबालिकाले देखाएको उदार भावनाको इटहरी सरकारका नगरप्रमुख द्धारिकलाल चौधरीले उच्च सम्मान गरेका छन् । मेयर चौधरीले ती बालबालिकालाई सम्पूर्ण नगरवासीको तर्फवाट धन्यवाद ज्ञापन समेत गरेका छन् ।
अघिल्लो दिन श्रेया र श्रब्यका माता पिता पुस्कर र खेमु चापागाईले कोषमा ५१ हजार जम्मा गरेका थिए । त्यो देखेर दिदि भाईले आफूहरुले पनि सहयोग गर्ने इच्छा व्यक्त गरेकाले खुत्रुके फुटाएर इटहरी सरकारलाई सहयोग प्रदान गरेको बुबा पुष्करले बताए । यसअघि जनता स्कुल इटहरीका विद्यार्थीहरुले खाजा खर्च कटाएर दिनहुँ एक एक रुपियाँ रकम जम्मा गरेको कोषवाट एकलाख एक हजार रकम उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा जम्मा गरेका थिए ।