इटहरीः पछिल्लो बुढासुुब्बा गोल्डकपको एउटा म्याचमा अतिथि पत्रकार ‘रो’ मा साइकल यात्री पुुष्कर शाह थिए । उनलाई देख्नेबित्तिकै एक सञ्चारकर्मीले नामको चिर्कटो कार्यक्रम सञ्चालकलाई थमाए । उनले साइकलबाट विश्वमा साढे पाँच फन्को मारेको र देशको झण्डा संसारमा घुुमाइसकेको व्यक्ति भनेर परिचित गराए । शाहले जिब्रो टोेके । अतिथि तथा दर्शक दीर्घामा अभिवादनको हात हल्लाए । उनलाई हौसाउँदै दर्शकले हुटिङ फर्काए । खेलाडी बल भेट्न दगुर्न थाले ।

धरान, साइकल र शाहको सम्बन्ध सन् २०१२ बाट जोडिएको हो । धरानका साइकल पारखी कृष्ण केसीले साइकलको सम्बन्ध यसरी जोड्न प्रयत्न गरेका थिए । पुष्कर एउटा कार्यक्रमका लागि भेडेटार आएका थिए । साइकलको पाङ्ग्रोमा विश्वलाई ५ फन्को मारिसकेका शाह नेपाल आएपछि सेलिब्रेटी बने । उनी देशैभर साइकल सम्बन्धमा बाँधिए ।

धरानका लागि साइकलको सम्बन्ध बलियो गरी कसियो । धराने साइकल पारखीका लागि शाह अभिभावक बने । धरानको टिमसँग कहिले इलाम, अन्तु त कहिले दार्जिलिङसम्म पाइडल मार्दै पुुगे । जहाँजहाँ साइकल, खेल, पर्यटन र वातावरण जोडिन्छ त्यहाँत्यहाँ शाह अनिवार्य बने । अर्थात् साइकलको पर्याय बने पुष्कर शाह ।
आज शाहको प्यारो साइकल काठमाडौको कुनै कोप्चामा छ । उनले बैंसको उर्वर समय घुमफिरमा बिताए । आमासँग केही रकम मागेर हिँडेका उनले ४ हजार १५ दिनमा संसारका १ सय ५० देश घुमेर नेपालको झण्डा फरफराए । यो उनको निजी खर्चमा सम्भव भयो । राज्यले यति काम गरे करोडौँ खर्च हुन्थ्यो ।

 

puskar-sha-pradeshportalcom 1

उनले निजी खर्चमा देशलाई विश्वसामु चिनाउने प्रयास गरे । देश फर्किएपछि सफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथासमेत चढे । हजारौँ युवाको ढुकढुकी भए । आफू घुुमेको अनुुभव किताबमा छापे । उनका प्रशंसक बढे । जनताले उनको हिम्मतको कदर गरे । तर राज्यले उनलाई सुनेन ।
विश्वमा घुुमेको अनुुभव उनी देशमा खन्याउन चाहन्थे । उनलाई नजिकबाट चिन्ने धरानका साइकलप्रेमी कृष्ण केसीले शाह विदेश भासिएको खबरले निराश बनाएको प्रतिक्रिया दिए । युवाका प्रेरणाका स्रोत भएको भन्दै उनीजस्ता युवा नै विदेशिनुुले निःशब्द भएको गुुनासो पोखे । नेपालमा साइकल पर्यटनको बहस भित्र्याउने शाहले धरानमा हौसला दिने गरेको केसी सम्झिन्छन् । धरानमा पछिल्ला वर्षमा लुकेका साइकल रुटलाई सार्वजनिक गर्ने कार्य गरेको भन्दै यसमा पुुष्कर शाहको उल्लेख्य देन भएको केसीको भनाइ छ ।

उनले पुुष्करको भनाइ उद्धृत गर्दै भने, ‘साइकल पर्यटन भनेको लुुकेको ठाउँको उजागर हो । डाँडापाखामा घुमफिर मात्र पर्यटन होइन ।’ केसीका अनुसार सम्भावना भएका तर प्रचारमा आउन नसकेका स्थानलाई साइकल रुटको रूपमा विकास गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिनुुपर्ने शाह तर्क गर्थे ।

मुलुकको काँचुली पर्यटनले मात्र फेर्न सम्भव छ भन्ने तर्क गर्ने तिनै व्यक्ति पुुष्कर, २ महिनादेखि अष्ट्रेलियाको सिड्नीभन्दा ५ सय किलोमिटरको दुरीमा रहेको अल्बरीको रेस्टुरेन्टमा काम गरिरहेका छन् । उनले त्यहाँबाट भनेका छन्, ‘अष्टे«लियामा बोटमा पैसा फल्छ भन्थे । रेस्टुरेन्टको भाँडोमा पो पैसा फल्दो रहेछ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बैंस जति साइकलको पाङ्ग्रोमा पोखियो...’
शाहले जेठ २० गते सेतोपाटी अनलाइन पत्रिकामा ‘एउटा यस्तो सपना’ नामको लेख लेखेका छन् । उनले उक्त लेखमा नेपालको सम्भावनाको विषयलाई उजागर मात्र गरेका छैनन् राज्य सञ्चालकको कानमा पुुगोस् भनेर केही सुुझाव पनि दिएका छन् ।

puskar shaha pradeshportal.com2

उक्त लेखमा सिंहदरबार क्षेत्रलाई पर्यटकीय स्थानको रूपमा परिणत गर्ने, काठमाडौंलाई साइकलमैत्री शहर बनाउने, ठूला शहरमा मेट्रो रेल, पर्यटकीय क्षेत्रमा केबलकार, रेडलाईट एरिया, गे्रट हिमालय ट्रेल, कम आम्दानी हुने स्थानमा राजधानी बनाउनुुपर्ने लगायतका धारणा राखेका छन् ।
उनले पछिल्लो समय दोलखालाई पर्वतीय पर्यटनको हब बनाउने सोच राखेका थिए । संसारका देश घुुमेर बटुुलेको अनुुभव र सामग्री उक्त सङ्ग्रहालयमा राख्ने र देशलाई पर्यटनको माध्यमबाट देशको नाम उच्च बनाउने सपना थियो । स्तरीय होटल बनाउने उनको सोच पनि अघि बढेको थियो । सो कार्यका लागि उनले मुलुकका उच्च स्तरका नेतालाई पनि भेटेका थिए । तर उनको कुराको सुनुवाइ भएन ।
नीति निर्माण तहमा भएका नेताहरुलाई भेटे पनि केही जोर नचलेपछि अन्ततः उनी अहिले मुुग्लान भासिए । मुुग्लान भासिनुका कारणबारे प्रदेश पोर्टलसँग उनले भने ‘भोकले यता आएँ ।’

अहिले उनका सपनाहरू थाँती छन् । जवान समयमा देखेका केही सपना उनले पूरा गरे । संसार घुुम्ने पैसाले होइन, इच्छाशक्तिले हो भन्ने सोच बनाएका शाहलाई अन्तत भोकले पछार्यो । उनले आफ्ना अनुुभव नेताहरूलाई सुनाए पनि पार्टीको सदस्य बन्न नसक्दा नेताले नपत्याएको गुुनासो गरे । आफू नेपाल पार्टीको भएको भन्दै देशको माटो शिरमा राखी हिँड्ने गरेको उनले बताए । ‘अझै माटोको सेवा गर्ने धोको छ, अवसर पाए फर्किन्छु ।’
धरानका साइकलप्रेमी कृष्ण केसीले साइकल पर्यटनको रोल मोडललाई नै देशले राख्न नसकेकोप्रति दुखेसो पोखे । ‘अब पुुष्कर शाहबिनाको साइकल पर्यटनको अभियान अपुरो हुने भयो ।’